Madhav Kumar Nepal

निजामती कर्मचारी संगठन पर्साको नवनिर्मित भवन उद्घाटन समारोहमा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नुभएको सम्वोधन, १० मंसिर २०७७ ।

 

निजामती कर्मचारी संगठन पर्साको नवनिर्मित भवन उद्घाटन समारोहमा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नुभएको सम्वोधन, १० मंसिर २०७७ ।

 

निजामती कर्मचारी संगठन पर्सा जिल्ला कार्यसमितको भवन उद्घाटन समारोहका सभापति, मञ्चमा आसनग्रहण गर्नुभएका नेकपामा केन्द्रीय नेता लगायत सांसदज्युहरु, कर्मचारी संगठनका पदाधिकारी मित्रहरु, जनप्रतिनिधि साथिहरु, प्रमुख जिल्ला अधिकारी सहित कर्मचारी मित्रहरु ।

म आज प्रतिकुलताको समयमा तपाईहरुको बीचमा उपस्थित भएको छु । काठमाडौं उपत्यका बाहिर कोभिड १९ महामारी सुरु भए पछिको मेरो यो पहिलो कार्यक्रम हो । तपाईहरुलाई थाहा छ, पर्सा जिल्लाको वीरगंजबाट २०२३ सालमा मैले एसएलसी परीक्षा उतिर्ण गरेको थिए । यहिं मैले कलेज सुरु गरें । आइकम यहि जिल्लाको ठाकुराम कलेजबाट गरेको हुँ । संगठित रुपमा राजनीतिक जीवनको सुरुवात पनि यहिंबाट गरेको थिएं । मैले २०२६ सालमा कम्युनिष्ट पार्टीमा संगठित भएर सपथ ग्रहण गरेको थिएं । आन्दोलनको अगुवाइ गरेको थियो । त्यतिवेला जगतमोहन अधिकारी क्याम्पस प्रमुख हुनुहुन्थ्यो, उहाँलाई पनि म यो अवसरमा सम्झन चाहन्छु ।

अहिले कोभिड १९ को विश्वव्यापी महामारी छ । प्रतिकुलताको माझमा तपाईहरुले मलाई बोलाउनुभयो । पहिले मानिसहरु थोरै आए भनेर चिन्ता हुन्थ्यो, अहिले धेरै भए भनेर चिन्ता छ । पहिले मानिसहरु टाढा भए भनेर चिन्ता हुन्थ्यो, अहिले नजिक आए भनेर । विश्वमा यस्ता महामारीहरु बेला बेलामा आउने गरेका छन् । महामारीले धनि, गरिव, महिला पुरुष चिन्दैन । यसलाई केही पनि होइन भन्नुहुन्न । होसियार हुनुहोस् । सतर्क रहनुहोस् । यो खतरनाक रोग हो । ६० बर्ष नाघिसकेकाहरुले अझ धेरै ख्याल गर्नुपर्छ । सरकारले पटक पटक भनेको छ, जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुहोस् । मास्क अनिवार्य प्रयोग गर्नुहोस् । मास्कको उचित प्रयोगबारे सिक्नुहोस् । समय समयमा सावुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुहोस् । भौतिक दुरी कायम गर्नुहोस् । सुरक्षा सतर्कता तपाईले आफ्नो लागि मात्र होइन अरुका लागि पनि कायम गर्नुपर्छ । महामारीका कारण अहिलेसम्म विश्वमा ६ करोड भन्दा धेरै मानिस संक्रमित भइसकेका छन् ।

 

महामारीको समयमा विश्वका कयौं मुलुकले राम्रो व्यवस्थापन गरे । उनिहरुले गरेका राम्रा अभ्यासबाट  हामीले सिक्नुपर्थ्यो । हामीले उनिहरुका असल अभ्यास र अनुभवलाई अनुकरण गरेर समयमै व्यवस्थापन गर्न सकेनौं र कोरोना झन् फैलिइरहेको छ । हामीले कमजोरीको पाटो भन्दा राम्रो पक्षको विश्लेषण गर्छौं । कमजोरीको पनि समीक्षा गर्नुपर्छ । कमजोरीलाई स्वीकार गरेर सुधार्नुपर्छ । विभिन्न देशका कम्पनिहरुले निर्माण गरेका भ्याक्सिनको परिक्षण सफल भएको सुखद समाचारहरु पनि आएका छन् । यो हाम्रो लागि खुसीको कुरा हो । अहिले कुन देशको भ्याक्सिन राम्रो भनेर परीक्षण भइरहेको छ ।

भ्याक्सिन आइसकेपछी यसले मानिसलाई ढुक्क बनाउँछ र सामान्य जीवनमा फर्किन सहयोग गर्दछ । मानव जीवननै अस्तव्यस्त भएको अवस्थाले आर्थिक क्षेत्रमा परेका प्रभावका कारण मानिसहरु रोगसँगै भोकले मर्ने अवस्था आयो । सरकारको सामु निकै ठुलो चुनौति छ । यस्तो अवस्थामा सवैको सहयोग चाहिन्छ । संघीय सरकारले चुनौति सामना गर्न योजना  बनाउनुपर्छ, प्रदेशको साथ हुनुपर्छ,  पालिकाहरुको सहयोग हुनुपर्छ । राजनीतिक दल र नागरिक समाजको पनि सहयोग हुनुपर्दछ । सवैको सामुहिक प्रयासबाट अघि बढ्दा जस्तोसुकै चुनौतिको पनि सामना गर्न सकिन्छ । संसारमा असम्भव केही छैन तर चुनौति छन् ।  बाधा छन् । हामीले चुनौतिहरुको सामना गर्न सक्नुपर्छ ।

निजामती कर्मचारी संगठनले जुन सफलता हासिल गरेको छ । तपाईहरुलाई बधाई र उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु । निजामति कर्मचारीको संगठन सञ्जाल विस्तार गरेको छ । बस्ने भवन निर्माण भएको छ । त्यसका लागि तपाईहरु बधाइको पात्र हुनुहुन्छ ।

देशको विकासको सन्दर्भमा विश्वका विभिन्न देशका राम्रा अभ्यासबाट सिक्नुपर्छ । राम्रा अनुभवहरुलाई लिएर अघि बढ्नुपर्छ ।  हामी कसरी अघि बढ्ने ? कतिपय बेथिती छ । मैले पहिले संसदमा पनि चर्चा गरेको थिएं, भोला रिजालले लेखेको गीत छ, ‘मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ । सपुत छौ कि कोही माझी बचाइदेऊ । यो गीतले मेरो देश मात्र होइन, प्रदेश मात्र होइन, स्थानीय तहको पनि कुरा आउँछ । वडाको कुरा पनि आउँछ । यो गीतले हामीलाई चुनौति दिएको छ । शिशिर योगीको अर्को गीत छ, ‘छाडेर काम सारा एक काम रोजिरहेछु, यो देशमा एउटा मानिस खोजिरहेछु ।यो देशमा म एउटा मानिस खोजिरहेछु । जसले देशलाई उकासोस् । जनताको मन र भावना जित्न सकोस् । देशको रक्षा गर्ने कोही सपुत छन् ? नगरपालिका वा वडामा छ ? राम्रो काम गरेकाहरुलाई मैले भनेको होइन । तर कमजोरी सुधार्नुस् ।

भ्रष्टाचारबाट देशलाई कसरी मुक्त गर्ने ? भ्रष्टाचारीलाई कसरी तह लगाउने ? लोभि, चोर, डाँकालाई हत्कडी लगाउनुस् । यी सवैलाई तह लगाउन सकिने विश्वका अनुभव हेरौं । प्रणालीमा सुधार गर्नुपर्छ ।  निर्माण व्यवसायीलाई मात्र दोष दिएर हुँदैन । हाम्रा निकायबीच समन्वय भएको छ कि छैन ?  कर्मचारीमा पनि बिना पैसा काम नगर्ने प्रवृति छ । निजामती कर्मचारी साथिहरुलाई म भन्न चाहन्छु, किन हाम्रो देशको हालत यस्तो भयो ? व्यवसायीलाई सक्षम बनाउनुपर्छ । सवैमा समर्पण र निष्ठा चाहिन्छ । लगनशीलता र  इमान्दारिता चाहिन्छ । यो सवै कुराको समिश्रण परिणाम हो । सवै खालका विसंगतिबाट मुलुकले त्राण खोजेको छ । हामीले नयाँ समाज निर्माण गर्न खोजेका छौं । नयाँ नेपाल निर्माण गर्न चाहेका छौं । त्यो जिम्मेबारी हाम्रो काँधमा छ । त्यसका लागि नेकपालाई जनताले जिम्मेवारी दिएका छन् । हामी समाजवाद निर्माण गर्न चाहन्छौं । समाजवादको विशेषता विकास, सामाजिक न्यायको प्रत्याभुति, गास वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभुति हो । भेदभाव, असमानता, शोषण, उत्पीडन अन्याय, अत्याचार, विकृति र विसंगितको अन्त्य हो । राज्यले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी लिनुपर्छ । नेता कार्यकर्ताको जीवन सादगी र पारदर्शी हुनुपर्छ । जनसरोकार र सुशासनका बाधकहरुलाई कडा कारवाही हुनुपर्छ । प्रशासनलाई विचौलियाको स्वार्थपुर्तिको माध्यम कुनै पनि हालतमा बन्न दिनु हुँदैन । अरु पनि थुप्रै विषय छन् । नविराउनु नडराउनु । गल्ती गर्नुभएन भने तपाईको आँट बढ्छ । आत्मबिश्वास बढिसकेपछी तपाईले उदाहरणीय रुपमा आफुलाई प्रस्तुत गर्न सक्नुहुन्छ । देशले त्यसै व्यक्ति हरेक ठाउँमा खोजेको छ ।  पुर्वाग्रही हुनुहुँदैन । दवावमा काम गर्ने कर्मचारी अयोग्य सावित हुन्छ । सरुवा गरिदिओस् तर इमान्दारिताका साथ उभिनुभयो भने विधि विधानको पक्षमा उभिनुभयो भने तपाइको उचित मुल्याङ्कन हुन्छ ।

पार्टीको सन्दर्भमा पनि, पार्टीलाई विधिमा चलाउनुपर्छ । पार्टीमा कोही पनि महामहिम छैन । प्रणालीबाट पार्टी चल्छ । प्रणालीलाई अनुशरण गर्नुपर्छ । अनुशासनको पालना गर्नुपर्छ । म नै सर्वेसर्वा अरु सवै पछुवा भन्ने भावनाबाट मुक्त भयो भने सवैको मान, सम्मान, इज्यत, प्रतिष्ठा राखेर, सवैको वुद्धि प्रयोग गरेर, पार्टीको निर्णय मानेर गयो भने समस्याको समाधान निकाल्न सकिन्छ । मेरो कुर्ची ताक्यो भने कुर्ची नै भाँचिदिन्छु भन्ने मानसिकताबाट मुक्त हौं । सवै समस्या समाधान हुन सक्छ । नआत्तिनुस् । निराश नहुनुस् । साधारण र कमजोर जगमा निर्माण भएको यो कम्युनिष्ट पार्टी होइन । हामीले प्रणाली बनाइसकेका छौं । आजिवन सत्तामा बस्ने, आजिवन प्रमुख पदमा बस्ने प्रवृतिबाट मुक्त हुन हामीले प्रणाली बसालिसकेका छौं । पहिले पहिले नमरुन्जेल प्रमुख पद ओगट्ने प्रवृति थियो तर हामीले त्यो प्रणाली तोडिसकेका छौं । राम्रो पार्टी नयाँ पुस्तालाई सुम्पने गरी हामी उदार हृदयका साथ अघि बढौं । यसमै सबैको कल्याण छ । धन्यवाद ।

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्