Madhav Kumar Nepal

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा सम्वोधन, १९ फाल्गुन २०७६ ।

 आजको यस सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण भेलाका अध्यक्ष कमरेड, मञ्चमा उपस्थित पार्टीका केन्द्रीय सचिवालय लगायत सवै तहका नेता कार्यकर्ता कमरेडहरु, सहभागि सवै प्यारा कमरेडहरु । आजको भेला, प्रशिक्षण पनि हो । यस्ता प्रशिक्षण व्यवस्थित गर्न पार्टी स्कुल विभागले छुट्टै व्ववस्था गर्नुपर्छ । प्रशिक्षण संचालन गर्ने तरिका, सभाहरु संचालन गर्ने तरिका, सम्वोधन गर्ने तरिका, विचार व्यक्त गर्ने तरिका यि सवै कुरालाई व्यवस्थित गर्नुपर्छ । मलाई सवैभन्दा धेरै खड्किने विषय आशनग्रहणको हो, केही बर्ष अघि म टीकापुर महोत्सवमा आएको थिएँ, त्यहाँ आशनग्रहणको शिलशिला सक्न तीन घण्टा पैतालिस मिनेट लागेको थियो । यहि कार्यक्रममा पनि पैतालिस मिनेट आशनग्रहणमै लाग्यो । अव आशनग्रहणको तरिका पनि फेर्नुपर्छ । कार्यक्रम संचालन गर्नेहरुलाई पनि सिकाउन आवश्यक छ । मन्तव्य दिनेहरुलाई पनि सिकाउनु आवश्यक छ ।

अव म आफ्नो कुरा अगाडी बढाउँछु, यसअघि बोल्ने नेता कमरेडहरुले पार्टी एकताको महत्वबारे आफ्नो भनाइ राख्नुभएको छ । यो एकता लहडमा गरिएको होइन, यत्तिकै निर्माण गरिएको पार्टी पनि होइन । जनताले यत्तिकै झण्डै दुई तिहाइ मत दिएर बनेको सरकार पनि होइन । नेपाल एकीकरणका सन्दर्भमा पृथ्विनारायण शाहले,'यो साना दु:खले आर्झ्याको मुलुक होइनभनेझैं हामीले पनि साना दु:खले यो उपलब्धी हासिल गरेका होइनौं । यो आन्दोलन, २००६ सालमा कम्युनिष्ट आन्दोलन सुरु हुनुभन्दा अघिदेखिको हो । कम्युनिष्ट पार्टी पुष्पलालले २००६ साल वैशाख १० गते स्थापना गरेपछि ७० बर्षको लामो यात्रा हामीले पार गरेका छौं । हाम्रा नेताहरुले खेल्नुभएको भुमिकालाई, कम्यनिष्ट आन्दोलनले पार गरेका अनेकौं अफ्ट्याराहरुलाई हामीले बिर्सनु हुँदैन । हामी स्वयम् कम्युनिष्ट पार्टी पुनर्गठन गर्ने अभियानमा संलग्न भयौं । तेस्रो महाधिवेशपछी जव कम्युनिष्ट पार्टी छिन्नभिन्न हुन थाल्यो, नेतृत्वविहिन- केन्द्रविहिन हुन पुग्यो । त्यो अवस्थाबाट कम्युनिष्ट पार्टी पुनर्गठन गर्न थालेको अवधि पनि ४७ बर्ष भइसकेको छ । यो अवधिमा महाकालीमा धेरै पानी बगिसकेको छ ।

हामीले अनेकौं समुहहरुलाई आवद्ध गर्दै, छिन्नभिन्न भएका कम्युनिष्टहरुलाई एकतावद्ध बनाउँदै, अनेकौं सफलता र असफलता भोग्दै, सशक्त पार्टीका रुपमा नेकपा एमाले बनायौं । त्यसैगरी चौथो महाधिवेशनपछि अनेकौं आरोह अवरोह पार गर्दै, एकता र विभाजन भोग्दै माओवादी बन्यो । एकातर्फ जनयुद्ध (एक्काइसौं शताव्दीको जनवाद) अर्कोतर्फ जनताको वहुलदीय जनवाद, यी सवै सम्रिश्रित भएर आज हामी समाजवाद उन्मुख जनवादको विचारमा आइपुगेका छौं । त्यसभित्रको अन्तर्निहित कुरा भनेको जनताको बहुदलीय जनवाद नै हो । अहिले नेपालको कम्युनिष्ट पार्टी विश्वव्यापी रुपमा चर्चाको विषय भएको छ । नेपालको कम्युनिष्ट आन्दोलन विश्वको निम्ती प्रेरणाको विषय बनेको छ ।

यसअर्थमा हामीले दुईवटा ठुला कम्युनिष्ट पार्टीलाई एकीकृत गरेर ऐतिहासिक महत्वको काम गरेका छौं । यसको महत्वलाई हामीले नजरअन्दाज गर्नु हुँदैन । यसको दुरगामी महत्व छ । हिजोको अवस्थामा निश्चित कामका लागि अलग अलग समुहले भुमिका खेल्यौं । अरुलाई पनि समेट्यौं, अरुलाई पनि नेतृत्व प्रदान गर्यौं र राजनीतिक क्रान्तिको काम पुरा गर्यौं । त्यो चरण पुरा गरेपछि अहिले अर्को चरणमा प्रवेश गरेका छौं । अव हाम्रो अग्निपरीक्षा सुरु भएको छ । एउटामा त हामी सफल भयौं । राजतन्त्रको उन्मुलन गर्यौं । सामन्तवादलाई परास्त गर्यौं । तर अर्को काम, ठुलो जिम्मेवारी पुरा गर्न बाँकी छ । अवको चरण भनेको आर्थिक क्रान्तिको हो । त्यतिमात्र होइन,  आर्थिक, सामाजिक र साँस्कृतिक तीनवटा क्षेत्रमा रुपान्तरण आवश्यक  छ ।

जनतामा चेतना ल्याउन सक्नुभएन भने, संस्कारयुक्त नागरिक बनाउन सक्नुभएन भने सरकारका नीति कार्यक्रमहरु कार्यन्वयन हुन सक्दैनन् । सरकारका अपेक्षाहरु पुरा हुन सक्दैनन् । त्यसैले संस्कार-संस्कृतिको कुरा पनि महत्वपुर्ण हुने गर्दछ । अहिले हामी आर्थिक क्रान्तिको चरणमा प्रवेश गर्दा समृद्ध नेपाल सुखी नेपालीको नारा अगाडी सारेका छौं । यो नाराको अन्तर्यमा के छ भने सवै नागरिकहरु सुखी बनुन् । उनिहरुको जीवन सुखमय होस् । यसअर्थमा हामी गरिवी, वेरोजगारी, पछौटेपनका साथै पुराना कुरितीलाई अन्त्य गर्न चाहन्छौं । नयाँ संस्कार निर्माण गर्न चाहन्छौं । आचरण विकास गर्न चाहन्छौं । त्यसका लागि समाजका बिकृति र विसंगितहरु अन्त्य गर्न चाहन्छौं । यसअर्थमा हामीले त्यस्तो पार्टी बनाउनुपर्नेछ, जुन पार्टी लोकप्रिय होस् । तीनवटा कुरा महत्वपुर्ण छन् भन्ने कुरामा म जोड दिन चाहन्छु । पहिलो क्रान्तिकारी स्पिरिट भएको कम्युनिष्ट पार्टी निर्माण, यो सवैभन्दा महत्वपुर्ण काम हो । दोस्रो असल र गतिशील कार्यकर्ता सँगसँगै हुनुपर्दछ, तेस्रो चिज भनेको लोकप्रिय सरकार । क्रान्तिकारी पार्टी निर्माणका लागि चाहिने तत्वहरु के के हुन् ? कार्यकर्ताका लागि आवश्यक गुणहरु के के हुन् ? लोकप्रिय बन्न सरकारले गर्नुपर्ने काम के के हुन् ? केन्द्रीय तहको होस्, प्रादेशिक तहको होस् वा स्थानीय तहको होस् । यी तिनै तहका सरकारहरुलाई लोकप्रिय बनाउने कसरी ? त्यसका लागि हामीले धेरै प्रशिक्षण गर्नुपर्नेछ । अहिले त हामी राष्ट्रिय अभियान लिएर तपाईहरुका सामु आएका छौं । पार्टी केन्द्रीय किमिटीको दोस्रो वैठकको निर्णय अनुरुप देशव्यापी रुपमा एकताको सन्देश दिन आएका छौं । पार्टी सुदृढिकरण अभियान अन्तर्गत हामी यहाँ आएका छौं ।  पार्टी सुदृढिकरण सँगसँगै पार्टीलाई जनसम्पर्क स्थापित गर्नुपर्ने आवश्यकता पनि छ । पार्टी एकतावद्ध र सुदृढ बनाउने सन्दर्भमा अनेकौं कुराहरु उठिरहेका छन् । मैले जोड दिन खोजेको कुरा के हो भने, नीतिमा दृढताका साथ टेक्ने र विधीमा दह्रो गरी हिंड्ने । यो मुल मर्मलाई समात्न सक्यौं भने पार्टीभित्रका सवै अन्तरविरोधहरु हल हुन्छन् । सवै गुनासाहरु समाप्त हुन्छन् । नेताहरुबीचको द्वन्द्व पनि सकिन्छ । त्यसैले नीतिमा दृढताका साथ टेक्नुपर्यो र विधीमा दह्रोगरी हिंड्नुपर्यो । क्रान्तिकारी र लोकप्रिय पार्टी बनाएर अघि बढ्नुपर्यो । कम्युनिष्ट क्रान्तिकारी स्पिरिटको खाँचो छ । मार्क्सवाद लेनिनवादलाई आत्मसाथ गर्नुपर्ने खाँचो छ, यो हामीले कति आत्मसाथ गरिरहेका छौं ? कि हामीले आफ्नो हित र फाइदाका लागि मात्र माला जपेजस्तो जपिरहेका छौं ?

सरकारले कामको प्राथमिकिरण गरेको छ । कामको प्राथमिकता तय गर्नैपर्छ । कामको प्राथमिकतामा पनि कतिपय समस्याहरु छन् । परियोजनाहरुका सन्दर्भमा स्पस्ट सोंच आउन सकिरहेको छैन । परियोजनाहरु सयौंको संख्यामा अगाडी बढाइन्छ तर कामको परिणाम हेर्दा १० प्रतिशत पनि पुरा भएको हुँदैन । सवैको माग पुरा गर्नुपर्ने, सवैलाई चित्त वुझाउन खोज्दा पनि कसैको चित्त नबुझ्ने अहिलेको अवस्था छ । यो वर्ष कति परियोजना पुरा गर्न सकिन्छ ? कुन परियोजनाबाट धेरै जनतालाई लाभ दिन सकिन्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ । त्यसको लागि आवश्यक के छ भने, पार्टी र सरकारको सम्वन्धलाई घनिष्ट बनाउनुपर्छ । पार्टीको निर्देशनमा सरकार चल्नुपर्छ । कामहरु पारदर्शी हुनुपर्छ । आम जनताको हितलाई ध्यानमा राख्नुपर्छ । जनताको चाहना र माग के हो ? प्राथमिकता त्यसैलाई दिनुपर्छ । मेरो जोड के कुरामा छ भने, पार्टी कमिटीका बैठकहरु नियमित हुनुपर्छ । कमिटीभित्र बहस गर्नुहोस् । विचार मन्थन गर्नुहोस् । कमिटीभित्र मन नपरेका कुरा आउन सक्छन् तर केही फरक पर्दैन । असन्तुष्टी र गुनासा राख्नेले ठाउँमै राख्छ । बाहिर गीत गाउँदै हिड्न भएन, त्यसो भयो भने विरोधीहरुले ताली बजाउँछन् ।

कमिटीको प्रणालीलाई व्यवस्थित गर्नुहोस् । अहिले समस्या छ । एकीकरणको बेलामा, संक्रमणकालीन प्रवन्ध गर्दा कमिटीको आकार ठुलो भएको छ । संसारमा कतै नभएको ४ सय ५० जनाको केन्द्रीय कमिटी छ । ९ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीको २ सय १३ जनाको केन्द्रीय कमिटी छ । आठ लाख पार्टी सदस्य नभएको हाम्रो पार्टीको ४ सय ५० जनाको केन्द्रीय कमिटी छ । यति संख्या ठिक होइन । कार्यकारी कमिटी जहिले पनि सानै हुनुपर्छ । १ अर्व ६० करोड जनसंख्या रहेको चीनको कम्युनिष्ट पार्टीले ७ जनाको स्थायी कमिटी बनाएको छ ।

अहिले त जे भयो भयो, अव हुँदैन । अव गतिशील, क्रियाशील, रचनात्मकता र सिर्जनसिलता भएकाहरुले मौका पाउन् । नयाँ कमिटी बनाउँदा पुरानो पिंडीका पनि परुन्, प्रौण नेताहरु पनि परुन्, युवाहरु परेकी परेनन् ख्याल गर्नुस् । युवाहरुले मौका पाएनन् भने नयाँ पुस्तालाई आकर्षित गर्न सकिंदैन । एकपटक म बेलारुस गएको थिएँ । ७० बर्षभन्दा कम उमेरको केन्द्रीय कमिटीमा एकजना पनि रहेनछ । मैले त्यतिवेला भनें, अव यहाँ कम्युनिष्ट पार्टी सिद्धिन्छ । युवाहरु समेट्नुपर्छ, त्यो युवामा कम्युनिष्ट चरित्र हुनुपर्छ । कम्युनिष्ट गुण र विशेषता हुनुपर्छ । जनता र कार्यकर्ताको मन र विश्वास जित्न सक्नुपर्छ ।

कम्युनिष्ट पार्टीका कार्यकर्ताले संसारलाई बुझ्ने, नेपाली समाजलाई बुझ्ने गर्नुपर्छ । के हो नेपाली समाजको अन्तरविरोध ? हिजो के थियो भने सामान्तवाद, दलाल नोकरशाही पुँजीवाद र जनताबीचको अन्तर्विरोध प्रधान थियो । अहिले आधारभुत अन्तर्विरोध हल गरेर, सामान्तवादलाई परास्त गरेर जनताको शासन ल्याएका छौं । जनताको शासन ल्याइसकेपछि हाम्रो अन्तरविरोध कहाँ छ भने, समाजमा रहेका शोषण उत्पिडनसँग हाम्रो अन्तरसंघर्ष जारी छ । पुरानो संस्कार विरुद्धको अन्तरसंघर्ष जारी छ । कुप्रथा विरुद्धको संघर्ष जारी छ । सुदुरपश्चिममा रहेको छाउपडी प्रथा यसको एक उदाहरण हो । यसलाई अव तपाईहरुले  अन्त्य गर्न सक्नुहुन्न भने म तपाईहरुलाई धिक्कार भन्छु । तपाईले आफ्नो घर समाजमा रहेका यस्ता कुप्रथा हटाउन सक्नुहुन्न भने अरु कसैले गर्ला भनेर आशा गर्न सकिन्छ ? नेकपाका कार्यकर्ताहरुले नै यो कामको अगुवाइ गर्नुपर्छ । पीडा र मारमा महिलाहरु भएको हुनाले महिला कमरेडहरुले नेतृत्व लिनुपर्छ । महिलाहरु अघि बढ्नुपर्छ । पुरुषहरुले साथ दिनुपर्छ । पुरुषहरु अघि बढ्नुपर्छ र महिलाहरुले साथ दिनुपर्छ । हालेमालो गरेर यत्ति अवधिमा अन्त्य गर्ने भनेर अघि बढ्नुपर्छ । त्यसका लागि २-३ चरणको काम गर्नुपर्छ । पहिलो, चेतना जगाउने घर घरमा, दोस्रो डर देखाउने- कानुनको डर र तेस्रो भनेको- पक्राउ गरेर सजाँय दिने ।

जुन पार्टीले आफ्नो समाजका समस्या र चुनौतिहरुलाई समाधान गर्न पहल गर्छ, जनताको मन र विश्वास जित्छ । पीडित जनताको पक्षमा दृढताका साथ आफुलाई उभ्याउनुपर्छ । नाराका रुपमा मात्र लोकप्रिय पार्टी बनाउने होइन, नाराका रुपमा क्रान्तिकारी बन्ने भन्ने होइन, हाम्रो काम, चिन्तन र व्यवहारमा देखा पर्नुपर्छ ।

अर्को कुरा छ पार्टीभित्रको एकताको कुरा, मैले अघि नै भनिसकें, नीतिमा दृढताका साथ टेक्ने र विधीमा दह्रो गरी हिंड्ने हो भने सवै समस्या समाधान हुन्छ । निश्चित विधिमा काम गरेको भए दुई महिनामा एकताको काम पुरा हुन सक्थ्यो । विद्यमान पार्टीका विद्यमान कमिटीलाई एकता गर्न वैज्ञानिक आधार बनाउनुपर्ने थियो । अहिले विद्यमान कमिटीका सवै सदस्यलाई राख्ने भनिएको छ । निश्क्रिय थियो, निदाएर बसेको थियो भन्न पाइँदैन । विद्यमान कमिटीमा भएकोलाई राख्नैपर्छ । तर ठुलो कमिटी हुने भयो भने जुनियरलाई हटाउने हो ।

अहिले पार्टी पोलिटव्युरो बन्न सकेको छैन, पहिले पोलिटव्युरोमा रहिसकेकोले पहिलो प्राथमिकता पाउँछ । धेरै पटक केन्द्रीय कमिटीमा रहिसकेकोले दोस्रो प्राथमिकता पाउने, -३ पटक केन्द्रीय कमिटीमा रहिसकेकोले तेस्रो प्राथमिकता पाउने गरी मापदण्ड बनाएर काम गर्नुपर्छ । अहिले यो पार्टीलाई सुदृढ गर्नेबाहेक अरु विकल्प छैन । यसलाई बिघटन गर्ने कसैले सोचेको छ भने, उनिहरुको सपना कहिलै पुरा हुँदैन । पार्टी एकतावद्ध भएर अगाडी बढ्छ ।

हाम्रा सामु चुनौति छन् तर विशाल अवसरहरु पनि छन् ति अवसरहरुलाई सदुपयोग गर्नुपर्छ र चुनौतिको सामना गर्नुपर्छ । यसकारण हामीले कामको शैलीमा सुधार गर्नुपर्ने आवश्यकता छ । हामी नाममा कम्युनिष्ट व्यवहारमा बुर्जुवा बन्ने होइन । भित्र एउटा बाहिर अर्को हुनु हुँदैन । कम्युनिष्टहरु इमान्दार हुन्छन् । कर्तव्यनिष्ट हुन्छन् । जनताप्रति समर्पित हुन्छन् । यी कम्युनिष्टका विशेषताका बारेमा अध्ययन गर्नुपर्ने भयो । युद्ध र क्रान्तिको बेलामा त्याग तपस्या र बलिदानको कुरा प्रमुख हुन्छ तर सत्तामा पुगेपछी के हुने रहेछ भने पद र पैसाको लोभ । पदमा गइसकेपछी आफ्नो धरातल विर्सने, पैसा कमाउने गलत प्रवृति हुर्कन्छ । पदबाट तल झर्नै नचाहने भावना जागेर आउँछ र अनेक तिकडम गर्न थाल्छ । यी प्रवृतिहरु अहिले देखा परेको छ ।

कसरी कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाइराख्ने ? यो काममा जुटिरहनुपर्छ । म होइन हामी भन्ने भावना, व्यक्ती होइन कमिटी प्रणाली भन्ने भावना, कमिटीलाई व्यवस्थित र गतिशील बनाउने, जनसम्पर्क विस्तार गर्ने आवश्यकता छ । म अरु विषयहरुमा धेरै जान चाहन्न । एमसिसीको बारेमा धेरै भनिरहनुपर्ने छैन । एमसिसी सम्झौताबारे अध्ययन गर्न गठन गरेको कार्यदललले प्रतिवेदन बनाएको छ । कार्यदलका सदस्य कमरेड भीम रावल यहिं हुनुहुन्छ, म त्यसतर्फ जान चाहन्न । देशको हितमा रहेछ भने अघि बढ्छ देशको अहितमा छ भने मान्दैनौं । हामी सहयोग नलिइकन चल्छौं भन्ने पनि होइन, हामीलाई अहिले पुँजी चाहिएको छ, आन्तरिक पुँजीको परिचालन पहिलो प्राथमिकता हो । बाह्य पुँजी पनि ल्याउन सकिन्छ । अवको १० बर्ष हाम्रो सम्पुर्ण ध्यान पुर्वाधार विकासमा केन्द्रित हुनुपर्छ । १९२० को दशकमा अमेरिकाले जति बाटो बनायो त्यसले अमेरिकाको विकासको आधार खडा गर्यो । हाम्रो पहिलो प्राथमिकता भनेको सडक पुर्वाधार निर्माण गर्ने कुरामा हुनुपर्छ । मानव संशाधनको विकास गर्ने कुरामा पनि ध्यान दिनुपर्छ । नेपालको सन्दर्भमा, विकासको दुईवटा इन्जिन छन्, ती हुन् जलविद्युत र पर्यटन । कृषि हाम्रो अर्थतन्त्रको आधार हो । कृषिलाई पनि हामीले प्राथमिकिकरणमा राख्नेछौं । पछिसम्म पनि नेपालको अर्थतन्त्रमा योगदान गर्नसक्ने क्षेत्र पर्यटन हो ।

यो सुदुरपश्चिम अति नै सम्भावना भएको क्षेत्र हो । यहाँको विकासका लागि पार्टी र सरकारको संयन्त्र बनाउनुहोस् । छलफल गर्नुस् । सवैको ज्ञान वुद्धि लगाउनुहोस् । म प्रधानमन्त्री हुँदा, यहाँको विकासका लागि कतिपय क्षेत्रमा जोड दिएको थिएँ । म प्रधानमन्त्री भएको बेला पश्चिम सेति परियोजना अष्ट्रेलियन कम्पनिबाट चिनियाँ कम्पनिमा हस्तान्तरण गरिएको थियो ।  पछि कांग्रेसको पालामा तुहाइदिएछ । बुढीगंगा जलविद्युत परियोजना चीनको सहयोगमा अघि बढ्ने समझदारी भएको थियो, त्यो पनि अघि बढ्न सकेन । सुदुरपश्चिम विश्वविद्यालय स्थापना, मेडिकल कलेज, पोलिटेक्निकल इन्ष्ट्रिच्युड, मध्यपहाडी लोकमार्गमा बन्ने स्मार्ट सिटीमध्ये २ वटा यहि क्षेत्रमा बनाउने निर्णय, सिंचाइमा सिंगो लगानीको १४ प्रतिशत सुदुरपश्चिमले पाएको थियो ।

अहिले विश्व पुँजीवाद असफल हुँदै गएको छ र समाजवादको भविष्य उज्वल छ । हाम्रो संविधान र पार्टीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको संकल्प गरेको छ । हाम्रो देशको सन्दर्भमा जनतालाई गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा प्रदान गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्छ । उत्पादनमा जोड दिने, कार्यकर्तालाई पनि उत्पादनसँग जोड्नुपर्छ । हाम्रो पार्टी सरकारमा भएको हुनाले समाजवादको मोडल के हुने ? यसको नेपाली नमुना के हुन सक्छ ? कस्ता कार्यकर्ता उत्पादन गर्ने ? योजना बनाउनुपर्छ । कार्यकर्तालाई उत्पादनसँग जोड्न सक्ने हो भने कार्यकर्ता भ्रष्ट हुने छैनन् । सरकारले जोड दिनुपर्छ- प्रत्येक क्षेत्रको खोज र अनुसन्धानलाई । हरेक कामको निरिक्षण र सुपरिवेक्षण गर्नुपर्यो । प्रत्येक कामको मुल्याङ्क गर्नुपर्यो । पुरस्कार र दण्डको व्यवस्थालाई दह्रो गरि कार्यन्वयन गर्नुपर्यो । विश्वासका साथ अघि बढ्नोस् । भविष्य उज्वल छ । यहि कुरा राख्दै विदा हुन्छु । धन्यवाद लालसलाम ।

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्