Madhav Kumar Nepal

पुर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता कमरेड माधवकुमार नेपालले कर्णाली प्रदेश स्तरीय पार्टी कार्यकर्ता भेलामा गर्नुभएको सम्वोधन, २०७६ फागुन ६ ।

 कर्णाली प्रदेश स्तरीय पार्टी कार्यकर्ता भेलाका अध्यक्ष कमरेड, कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टीका आदरणीय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कमरेड, पार्टीका महासचिव कमरेड विष्णु पौडेल लगायत प्रदेशका इन्चार्ज सहित पदाधिकारी कमरेडहरु, उपस्थित प्यारा कमरेडहरु ।

धेरै विषयहरु आइसकेका छन् । मुलत. देशव्यापी रुपमा एकताको सन्देश दिने, पार्टी कार्यकर्तामा एकताको भावना जगाउने, सिंगो पार्टीलाई एकतावद्ध बनाउने, पार्टी कार्यकर्तामा आत्मविश्वास पैदा गर्ने र यो पार्टीले नै नेपाली समाजको रुपान्तरण गर्न सक्छ भन्ने विश्वास सिर्जना गर्ने, नेपाली जनताको आशा र भरोसाको केन्द्रको रुपमा यहि पार्टी रहेको छ भन्ने विश्वास कार्यकर्तामा जगाउने उद्धेश्यले यो भेलाको आयोजना भएको हो ।

तपाईहरुको कर्तव्य र जिम्मेवारीहरु, जनतासँगको सम्वन्ध, जनविश्वास पैदा गर्नुपर्ने आवश्यकता आदी बारेमा हामी चर्चा गरेका छौं, गर्नेछौं । नेपालको कम्युनिष्ट आन्दोलन आफैमा पनि विश्वका निम्ती आकर्षणको विषय बनेको छ । नेपालको कम्युनिष्ट आन्दोलनबाट धेरैले प्रेरणा लिन चाहिरहेका छन् । सिंगो विश्वलाई हेर्ने हो भने,  कम्युनिष्ट आन्दोलन रक्षात्मक छ । कम्युनिष्ट विरोधी शक्तीहरुले न्यायपुर्ण आन्दोलन तहसनहस बनाउने प्रयास गरिरहेका छन् तर ति सवैको मुकाविला गर्दै संसारभर नै न्यायका लागि आवाज बुलन्द भइरहेको छ । कम्युनिष्टहरु एकतावद्ध भइरहेका छन्, एकपछी अर्को आन्दोलनको मोर्चामा उत्रेका छन् । चुनौति दिइहरेका छन् । सफलता हासिल गरिरहेका छन् । अगाडि बढिरहेका छन् । यो निरन्तरको यात्रा हो । यो अविराम यात्रामा हामी थाक्न हुँदैन ।

हामी थाक्यौं भने ? शिथिल भयौं भने ? निरास भयौं भने ? अरु कसैले गर्ने होइन, हामी कम्युनिष्टहरुले नै गर्ने हो, अरु कसैले गर्न सक्दैन । देशभित्र पनि नेपाल राष्ट्रको गरिमालाई जोगाउने काम, सार्वभौमसत्ताको रक्षा गर्ने काम, स्वाभिमानलाई उचो बनाउने काम, भौगोलिक अखण्डताको रक्षा गर्ने काम, अरुले गर्न खोजेको हस्तक्षेपको सामना गर्ने काम कम्युनिष्टहरुले मात्र गर्न सक्छन् भन्ने कुरा हामीले व्यवहारबाट देखाएका छौं ।

कम्युनिष्ट विचारबाट प्रभावित भएकाहरु मात्र होइन, कम्युनिष्ट विचार नमान्ने र विश्वास नगर्ने जनताले पनि राष्ट्रियताको कुरामा कम्युनिष्टहरुलाई आशातित नजरले हेरेका हुन्छन्, यो हामीले प्राप्त गरेको सम्पती हो । यो सम्पतिलाई हामीले जोगाउनुपर्छ । देशभक्तीको भावना जनतामा पैदा गर्नुपर्छ । जनतामा नेपाली भएकोमा गौरव गर्ने र स्वाभिमानको रक्षा गर्ने काम गर्नुपर्छ भन्ने भावना जगाउन हामीले भुमिका खेल्नुपर्छ । २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएदेखि नै लगातार राष्ट्रियताको आवाज बुलन्द गर्दै यहि कम्युनिष्ट पार्टी अघि बढेको हो । अहिलेसम्म पनि तपाईहरु देख्नुहुन्छ, सिमाको प्रश्न होस्, नाकाबन्दीको प्रश्न होस्, नेपालको विषयमा हस्तक्षेप गर्ने विषय होस्, यि कुराको मुकाविला गर्न हामी कम्युनिष्टहरु अग्रपंत्तिमा उभिने गरेका छौं । त्यो विश्वास कायम राख्नुपर्छ । जस्तोसुकै वाधा आएपनि, दवाव आएपनि त्यसको सामु झुक्ने होइन । कार्यकर्ता र नेपाली जनतालाई हामीले दिने सन्देश यहि हो । यहि चेतना र राष्ट्रिय जागरणको अभियान हामीले संचालन गर्नुपर्छ । तव जनताले कम्युनिष्ट पार्टीको आवश्यकता महसुस गर्दछन् ।

कम्युनिष्ट पार्टी लोकतन्त्रको खम्वा हो । जनतालाई अधिकार दिन सवैभन्दा अघि बढ्ने शक्ती कम्युनिष्ट हो,  यो सन्देश जनतामा हामीले पुर्याएका छौं, यसलाई कायम राख्नुपर्छ । पिल्सिएका र विभिन्न हिसावले अधिकारविहिन भएका जनताको आवाज भएर हामी मुखरित हुनुपर्छ । यो भुमिका हामीले खेलेका छौं कि छैनौं ? हाम्रो परीक्षा त्यहाँ हुन्छ । हाम्रो परीक्षा कहाँ हुन्छ भने, जव जनता समस्यामा पिल्सिएका हुन्छन् । अन्यायमा पिल्सिएका हुन्छन् । त्यो अवस्थामा हामी जनताको पक्षमा उभिन्छौं कि उभिंदैनौं ? हाम्रो परिक्षा त्यहाँ हुन्छ । जनतालाई हामीले वेवास्था गर्यौं भने हामीलाई पनि जनताले वेवास्था गर्नेछन् । त्यो ख्याल राख्नुस् ।

विश्व कम्युनिष्ट आन्दोलनको अनुभवले बताएको छ, पटक पटक सरकारमा बसेर, शासन संचालन गरेका पार्टीहरु जनताबाट विस्थापित भए । तिनै व्यक्ती होइनन्, जसले मत दिएका थिए ? यसबाट हामीले शिक्षा दिनुपर्छ । हामीकहाँ तीन खालको प्रवृति पैदा हुन सक्छ । एउटा निराशावादी प्रवृति,  खै पार लाग्दैन खत्तम छ भन्ने । जटिलताहरु देख्छौं, पार्टीभित्र गुटबन्दी भयो भन्ने सुन्छौं, विकृतीहरु बढे भन्ने सुन्छौं,  यसबाट निराशा पैदा हुन सक्छ । अर्को प्रवृति हो, यो सवै केही पनि होइन भन्ने ठान्ने, राम्रै राम्रो भइरहेको छ, गजव भइरहेको देख्ने । समस्या र चुनौतिहरुलाई नदेख्ने अर्को प्रवृति हुनसक्छ । सहि कुरा के हो ? समस्या छन् । चुनौति छन् । ति सवैलाई हामीले सामना गर्ने, अनुचित कुरा पन्छाएर अघि बढ्ने हो । त्याग र वलिदानको इतिहास, क्रान्तिकारी इतिहास विर्सने होइन । हिजो वलिदानको आवश्यकता थियो, आज सत्तामा छौं । त्यसको फाइदा लिन र सुविधा लिन मरिहत्ते गर्ने प्रवृति वढ्यो भने हामीलाई कसैले बचाउन सक्दैन । क्रान्तिकारी स्पिरिट वचाउन पनि यस्ता प्रशिक्षणको आवश्यकता छ ।

के समस्या छन् हामीभित्र ? कस्ता विकृति छन् ? अहिले हामीले गर्ने भनेको सामाजिक आर्थिक रुपान्तरण हो । आर्थिक रुपान्तरण विना बिपन्न जनताको समर्थन पाउन सक्दैनौं । आज हामी माग पुरा गर्ने ठाउँमा छौं, त्यहाँबाट काम गर्न सकेनौं भने,  समस्याहरुको समाधान दिन सकेनौं भने जनताले फेरी मौका दिने छैनन् । मैले हुम्लाको रिपोर्ट हेरें । त्यसमा धेरै पक्ष उल्लेख गर्नुभएको छ । पार्टीभित्र, सरकारभित्र, केन्द्र, प्रदेश र स्थानीय तहदेखि नेताका बारेमा र कामका तौरतरिकाबारेमा धेरै कुराहरु उल्लेख गर्नुभएको छ । तर रिपोर्ट तयार गर्दा अध्यक्षले मात्र लेखेर ल्याउनु भएन । टिम स्पिरिटलाई समात्नुहोस् । कमिटी प्रणाली अवलम्वन गर्नुभएन भने तपाईले कम्युनिष्ट पार्टी अघि बढाउन सक्नुहुन्न । लेनिनबादी संगठनात्मक सिद्धान्त अवलम्वन गरियोस् । कामका आधारमा, आचरणका आधारमा र निर्वाह गरेको भुमिकाका आधारमा मुल्याङ्कन गर्ने हो, चाकरीका आधारमा होइन । जनतामा कति लोकप्रिय छ ? कार्यकर्ताले कति मन पराउँछन् ? त्यसका आधारमा मुल्याङ्कन गर्ने हो । अध्ययन नगर्ने प्रवृति छ की ? पदको लागि मरिहत्ते गर्ने जिम्मेवारी पुरा नगर्ने प्रवृति छ की ? ति सवैलाई खोजेर सुधार्नुपर्छ । सुधार्नसक्छौं । बानी र पानी माथिबाट तल झर्छ तर माथिको मात्र मुख ताक्ने होइन । २ हजार २० को दशकमा जव कम्युनिष्ट आन्दोलन पुनर्गठनको प्रकृयाबाट गुज्रिरहेको थियो । हामीले माथि ताकेनौं । आफ्नो धर्तिमा टेक्यौं । जनतामा चेतना जगायौं । संगठित गर्यौं । अघि बढ्नुपर्छ र समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने बाटोमा अघि बढ्यौं । त्यो समयमा धेरै समस्या थियो । निरंकुश शासन थियो । त्यसलाई पार गरेर हामी आजको अवस्थामा आएका हौं ।

अहिले हामीले नयाँ खुवीको विकास गर्नुपर्छ । प्रशासन संचालन कसरी गर्ने ? राम्रा मान्छेको खोजी कसरी गर्ने ? उनिहरुका ज्ञान क्षमता अनुभव कसरी ग्रहण गर्ने ? यी सवै कुरामा हामी सिपालु बन्न सक्नुपर्छ । सिपालु बन्न सकेनौं भने, युद्ध, आन्दोलन र संघर्षमा त अगुवा बनौंला तर निर्माण गर्ने कुरामा र  आर्थिक रुपान्तरणमा अगुवा बन्न सक्दैनौं । यहाँ तपाईहरु मध्ये कोही नगर र गाउँपालिकाको प्रमुख, प्रदेशसभाको सदस्य, मन्त्री हुनुहुन्छ होला, त्यहाँ आफ्नो दायित्व कसरी पुरा गर्नुभएको छ ? पार्टीको जिम्मेवारीलाई कसरी पुरा गरिरहनुभएको छ ?

पार्टी एकीकरणका लागि यति लामो समय व्यथित गर्नुपर्ने आवश्यकता थिएन । तर अव हुँदैन । पार्टी केन्द्रीय कमिटी वैठकमा हामीले गहन छलफल चलाएका छौं । पार्टीलाई कसरी अघि बढाउनुपर्छ भन्नेमा धेरै राम्रो सुझाव आएका छन् । अध्यक्षहरुले जवाफ पनि दिनुभएको छ । महाधिवेशनको मिति पनि तोकिएको छ । गर्नुपर्ने कामका फेहरिस्त पनि तयार गरिएको छ । पार्टी एकीकरण गर्दा विधिको पालना गरिएको छैन भने सुधार्न सुझाव दिनुपर्छ । पहिले सम्झाउने, आलोचना गर्ने, नटेरे कारवाही गरेर हटाउने । अनुशासनले मात्र पार्टी चल्न सक्छ । विधि र अनुशासन अवलम्वन गर्ने बाहेक अन्य उपाय छैन ।

एकीकरण गर्ने कुरामा, भएका कमिटीका सदस्यहरुमध्ये यदि कमिटी ठुलो बन्ने भयो, पुरानो कमिटी सानो छ भने, त्यसका सवै सदस्य रहन्छन् । निश्क्रीय भए भनेर हटाउन मिल्दैन । ठुलो संख्या छ भने जुनियरलाई मात्र हटाउने हो, सिनियरलाई हटाउन मिल्दैन । क्षेत्रीय अध्यक्षलाई हटाएर सदस्यलाई राख्ने गर्न मिल्दैन । यस्ता कुरा भएका छन् भने संगठन विभागमा सवै कुरा पठाउनुहोस् । त्यहाँ छानविन गरेर उचित निर्णय हुन्छ । पार्टी विधिमा चलेपछी न्याय खोज्न अन्यत्र भौतारिनु पर्दैन । विभिन्न ठाउँका असन्तुष्टीका कुरा मैले सुनेको छु । कसैले पनि विधि तोड्ने, पद्धति तोड्ने र मनपरी ढंगले चल्न हुँदैन । मानिसको बीचमा प्रतिस्पर्धा हुन्छ । पार्टीको विचमा काम गर्न लोकप्रिय हुनुपर्छ ।  कार्यकर्ता र आम जनताको विश्वास जित्नुपर्छ । त्यसो गर्नुभयो भने नेताहरुको पनि विश्वास जित्नुहुन्छ तर आफ्नो कार्यक्षेत्रमा काम गरेर, गणेश प्रवृतिमा लागेर हिंड्ने होइन ।

नेपालको कम्युनिष्ट आन्दोलन किन जनताको विचमा लोकप्रिय भयो भने, यसको कारण खोज्नुस् त । जनताको माझमा बसेको हुनाले नै हो । जनताको समस्या उजागर गरेर  र लोकप्रिय आन्दोलनको नेतृत्व गरेकोले नै हो । पार्टी र जनताको सम्वन्ध नङ र मासुको जस्तै हुनुपर्छ । कार्यकर्ता र जनताबीचको सम्वन्ध पानी र माछा जस्तै हुनुपर्छ तर अझै पनि हाम्रो पार्टी जनतासँग जोडिन बाँकी छ । जनतासँग जोडिन के गर्नुपर्यो भने आफ्नो क्षेत्रको समस्या समाधान गर्न तपाईले अगुवाइ गर्नुपर्छ । समस्याहरु, विकास निर्माणसँग जोडिएका, रोजगारीसँग जोडिएका समस्याहरु, सामाजिक भेदभावले पिल्सिएका समस्या पनि हुन्छन् । यदि कायकर्ताले त्यस्तो विकृति गर्छन् भने, ब्याजमा पैसा लगाएर जनतालाई लुट्ने, अनेक खालका यातना दिने, शक्ति देखाएर सताउने काम गर्छन् भने, सामाजिक परिवर्तनको वाधक बन्छन् भने तिनीहरुमाथी कारवाही हुनुपर्छ । जनताको दु:खमा साथ दिनुपर्छ । सुखमा रमाउन सक्नुपर्छ ।

सरकारी बजेटमा भ्रष्टाचार गर्ने जस्ता के के छन् प्रवृतिहरु ? यस्ता प्रवृतिहरु खोज्नुपर्छ । कार्यकर्ताका पनि समस्या छन् । कार्यकर्ताहरु हावा खाएर बस्न त सक्दैनन् । पार्टीले सहयोग गर्नुपर्यो । कुनै उपाय छैन भने उपाय बताइदिएर पनि सहयोग हुन्छ । पिल्सिएका कार्यकर्ता भौतारिंदै कराउँदै हिड्छन्, हामी सुन्दै सुन्दैनौं । पार्टी ठुलो भएको छ, उपायहरु धेरै हुन्छन् । तर अनुचित काममा लाग्नु भएन । भ्रष्टाचार गर्नु भएन, लोभमा फस्नु भएन । हामीले चाहेको कुरा के हो भने हामीले जनताको दु:खमा साथ दिनुपर्छ ।

कम्युनिष्ट पार्टीमा बसेका मानिसहरुले सक्रियताका साथ काम गर्ने हो भने मानिसहरु अरु पार्टीमा अल्मलिरहनु पर्दैन । अहिले अरु पार्टीबाट कम्युनिष्ट पार्टीमा आउने मानिसहरुको लहर चलेको छ । अझै हाम्रो काम र सरकारको काममा सुधार गर्नुपर्ने कुरा धेरै छन् । जनअपेक्षा र प्रतिवद्धता अनुसार काम गर्नुपर्यो । वार्डमा, नगरपालिका र जिल्ला जिल्लामा भेलाहरु आयोजना गरेर पार्टीका अगुवा र समाजका अन्य अगुवाहरुको राय लिनुहोस् । जनअपेक्षा अनन्त छन् । एकरातमा ति पुरा हुन सकिंदैन । इमानदारिताका साथ काम गर्ने हो भने जनताले धैर्यता राख्छन् ।

केन्द्र सरकारले के भनेको छ भने, मेची-महाकाली सडक फराकिलो बनाउने, रेलमार्ग बनाउने, हुलाकी मार्ग र पुष्पलाल मार्ग निर्माण गर्ने जस्ता कुरा केन्द्रीय दृष्ट्रिकोणबाट काम गर्छ । प्रदेशले प्रादेशीक दृष्ट्रिकोण राख्नेछ तर केन्द्रको कुरालाई पनि प्रदेशले ध्यान दिनेछ । नगरले नगरलाई ध्यानमा राख्नेछ तर प्रदेशको योजनालाई पनि ध्यान दिनेछ । कुनै पनि योजना बनाउँदा दीर्घकालिन सोंच राख्नुपर्छ । दुरगामी र सामारिक दृष्ट्रिकोण राख्नुपर्छ । सुधार गर्नुपर्ने धेरै कुराहरु छन् । सुधार कम्युनिष्ट पार्टी बाहेक अरुले गर्न सक्दैन । यहाँ हाम्रो प्रतिस्पर्धी छ, नेपाली कांग्रेस- सवैभन्दा नालायक । अरु पार्टीको त कुरै नगर्नुस् । अहिले कम्युनिष्ट पार्टीले निकै राम्रो मौका पाएको छ ।

अस्ति म ट्युनिसियामा गएको थिएँ, सिंगो ल्याटिन अमेरिकाको कम्युनिष्ट आन्दोलन र वामपन्थी आन्दोलनको रिपोर्ट उनिहरुले पेश गरेका थिए । भेनेजुयला, बोलिभिया, निकारागुवा, क्युवा, ब्राजिल र अर्जेन्टिनामा कसरी जनतालाई गोलबन्द गरिंदो रहेछ ?  कसरी उनिहरुमा चेतना  र जागरण पैदा गरिंदो रहेछ ? कसरी उनिहरु एकतावद्ध भएर अघि बढिरहेका छन् ? आशावादी भएर । भोलि हाम्रो जित हुन्छ भन्ने विश्वासका साथ । समाजवादको जित हुन्छ भन्ने बिश्वासका साथ । अफ्रिकामा, युरोपका देशहरुको बारेमा, एसियाका देशहरुको बारेमा उनिहरुले समिक्षा गरे । साम्राज्यवादका चरित्र र गतिविधिका बारेमा र त्यसविरुद्धको आन्दोलन र वामपन्थी आन्दोलनको रक्षाका बारेमा चर्चा भयो । जव नेपालको चर्चा भयो, कम्युनिष्ट पार्टीको सरकारको कुरा सुन्दा उनिहरु पनि उत्साहित भए । कतिपय देशमा वामपन्थी पार्टी भन्छन्, कम्युनिष्ट पार्टी भन्न पनि सक्दैनन् । कम्युनिष्ट भन्ने नाम त लोकप्रिय छैन । नेपाल नै यस्तो देश हो जहाँ, कम्युनिष्ट पार्टीको नाम नै लोकप्रिय छ । जहाँ कार्ल मार्क्स, लेनिनको कुरा गर्दा मानिसहरु आकर्षित हुन्छन् । हामीले हाम्रो संविधानमा नै, समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुरा उल्लेख गरेका छौं । पार्टीले समाजवाद उन्मुख जनताको जनवादको कार्यदिशा तय गरेको छ । कस्तो हुन्छ समाजवाद ? नेपाली समाजवादका विशेषता के हुनेछन् ? शिक्षा प्रणाली, स्वास्थ्य प्रणाली कस्तो हुनेछ ? यसमा कसरी परिवर्तन गर्ने ? कतिपय पुँजीवादी मुलुक भन्दा हामी पछाडी छौं । वरु तिनीहरुको देशमा शिक्षा निशुल्क छ, स्वास्थ्य निशुल्क छ । तर हामीकहाँ व्यापारको माध्यम बनाइएको छ । उसलाई कसरी रुपान्तरण गर्ने लगाएत अन्य धेरै काम गर्न बाँकी छ ।

हामीले पुर्वाधारहरु तयार गर्नुछ । अहिले सरकारले पुर्वाधार निर्माणमा धेरै निर्णय गरेको छ । चीनसँगको नाका, रेलमार्ग र सडकमार्गले जोड्ने काममा अग्रसरता लिएको  छ । यो राम्रो कुरा हो । तर सरकारले राम्रो गरिरहेको छ भन्ने अनुभुति जनतामा किन जगाउन सकिरहेका छैनौं ? विरोधीको कुप्रचारले मात्र हो की, कुप्रचारलाई खण्डन गर्न नसकेर हो की ? प्रचार प्रसार गर्न पछाडी परेर हो की ? कहाँ हामीले त्रुटी गरिरहेका छौं ? त्यसको पहिचान गर्न नसकेर हो । जनताले आफ्नो जीवनमा अनुभुत गर्ने कसरी ? सुशासनको अनुभुति गर्ने कसरी ? जव उनिहरु सरकारी कार्यालयमा जान्छन्, जव पैसा खुवाउनुपर्छ । ढिलासुस्ती हुन्छ । अन्याय भोग्छन् । अनि कसरी जनतालाई सम्झाउने ? यसबारेमा गहन छलफल गर्नुपर्छ । अघि तपाईहरुले ठिकै भन्नुभएको छ, सरकारले पार्टी होइन, पार्टीले सरकार चलाउनुपर्छ । यत्रो पार्टीको शक्ती छ, शक्ती भनेको- बुद्धी छ । तागत छ । यसले सरकारको काममा सहयोग गर्ने हो भने सरकारले धेरै राम्रो काम गर्न सक्छ । अवस्थ पनि सरकारको पनि आफ्नो सिमा हुन्छ । बजेटको सिमा छ ।

संघीयताको अभ्यास कस्तो ढंगले गरिरहेका छौं भन्ने बहस छ । केन्द्रले प्रदेशमा उचित ढंगले बजेट पठाएन भन्ने कुरा छ । कुन प्रदेशले कति पाउनुपर्छ भन्ने पनि बहसको विषय छ । कर्णालीको हकमा उचित ढंगले पायो कि पाएन भन्ने बहसको विषय हुन सक्छ । पछाडी परेको प्रदेशले स्वभाविक रुपमा बढी पाउनुपर्छ । कर्णालीको साधन स्रोत उपयोग गर्ने हो भने कर्णाली मात्र आत्मनिर्भर हुने होइन, देशको अर्थतन्त्रमा बढी टेवा दिने प्रदेश यहि हुनेछ । तर पुर्वाधार विकास नै हुन सकेको छैन । बाटोघाटोका पुर्वाधार बन्न सकेका छैनन् । स्मार्ट सिटीका योजना बनाएका छौं, त्यो अघि बढ्न सकेको छैन । ति साधन स्रोत उपयोग गर्न सकेका छैनौं । विभिन्न योजनाहरुलाई समयमै सम्पन्न गर्न सकिरहेका छैनौं । यी समिक्षाका बिषय छन् ।

प्रिय कमरेडहरु, तपाईहरुले उठाउनुभएको कुरामा केन्द्र सरकारको ध्यान जानेछ । स्वयम् पार्टी अध्यक्ष यहिं हुनुहुन्छ । उहाँले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई पनि बताउनुहुनेछ । हामीले पनि मौका पायौं भने बताउँला । आफुले आफ्नो जिम्मेवारी कति पुरा गर्न सकेका छौं, त्यो हेर्नुपर्यो । आफुले जिम्मेवारी पुरा नगर्ने, अरुतिर मात्र प्रश्न गर्ने गर्नु हुँदैन । आफु इमानदार बनौं । कर्तव्यनिष्ट बनौं । त्यसले मात्र परिवर्तन गर्न सक्छ । तपाईहरुमा निराशाको भावना छ भने त्याग्नुस् । नेताहरु झगडा गरेर पार्टी चिराचिरा बनाउँछन् कि भन्ने लागेको छ भने, लडाँइ झगडाबाट नआत्तिनुस् । मेरै अनुभव सुन्नुहुन्छ भने, २०३२/३३ सालतिर कोअर्डिनेसन केन्द्र निर्माण गर्न वेलादेखि विवाद गर्दै आएको हो । विवादले पार्टी कमजोर हुँदैन । गतिहिन पार्टी मात्र कमजोर हुन्छ । बहस भित्र हुन्छ, आफ्नो ठाउँमा छ तर जे निर्णय हुन्छ त्यसको पालना हुनुपर्छ । निर्णय नगर्ने आदेशमात्र दिएर हुँदैन । कमिटी बस्नुपर्छ, आत्तिनु हुँदैन । अवस्य पनि कार्यकारी कमिटी ठुलो हुनु हुँदैन तर अहिले विशेष परिस्थितिमा यो ठुलो भएको छ ।

नेपालको कम्युनिष्ट आन्दोलनमा यो एकीकरणको बेग्लै महत्व छ । एकीकरण नभएको भए कम्युनिष्ट पार्टीले झण्डै दुइतिहाइ मत ल्याउन सक्ने थिएन । एमालेले जुन धार अघि सार्यो, माओवादीले जुन धार अघि सार्यो, दुवैका आ आफ्ना राम्रा विशेषताहरु रहेका छन् । अन्तत हामी के निष्कर्षमा पुग्यौं भने, शान्तिपुर्ण तवरबाट नै परिवर्तन गर्न सक्छौं । राजनीतिक परिवर्तन गरेका छौं । भोलि हामी सामाजिक, आर्थिक, सांस्कृतिक परिवर्तन पनि गर्न सक्छौं । यसका लागि जनतामा चेतना, संगठन, परिचालन र जागरण आवश्यक हुन्छ । कमिटीका वैठक नियमित बस्नुपर्यो । विवादबाट नडराउनुस् । बहस गरेर निष्कर्षमा पुग्नुस् । कमिटीको निर्णय पालना गर्नुस् । सवैको आ आफ्ना विशेषता हुन्छन्, यि सवैको संगमथलो हो- कम्युनिष्ट पार्टी । सवैका आ आफ्ना खुवी छन्, इतिहास छन्, त्यसप्रति गौरववोध गर्दै, भविष्यमा रुपान्तरणको काम गर्नसक्छौं भनेर हामी अघि बढेका छौं ।

यो पार्टी एकतावद्ध भएर अघि बढ्छ । अव हामीले विचारमा पनि एकता गर्नुपर्यो । भावनात्मक रुपमा पनि एकतावद्ध हुनुपर्यो । पुर्व भन्ने चिजलाई अव अन्त्य गर्नुपर्छ । अव एउटै कम्युनिष्ट पार्टी- नेपाल कम्युनिष्ट पार्टी ।

सम्मान पायो भने मानिसको गुनासो धेरै कम भइहाल्छ । त्यसैले सम्मान गर्नुस् । कामको उचित मुल्याङ्कन गर्नुस् । भेदभाव नगर्नुस् । यहि कुरा राखेर आफ्नो भनाइ टुङ्ग्याउँछु । हवस् त धन्यवाद । लालसलाम ।

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्