Madhav Kumar Nepal

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कञ्चनपुरको वेदकोट नगरपालिकामा आयोजित जनप्रतिनिधि सम्मेलनमा पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले गर्नुभएको सम्वोधन, २०७६ पुस १९ गते ।

 नेपाल भ्रमण बर्षका अवसरमा वेदकोट नगरपालिकाद्वारा स्थानीय तहका नगरपालिका र गाउँपालिकासँग अन्तर्सम्वाद सञ्चालन गर्दै पर्यटन प्रवर्द्धनको सम्भावनाका बारेमा छलफल गर्ने उद्धेश्यले आयोजित यस कार्यक्रमका सभापति वेदकोट नगरपालिकाका प्रमुख अशोक चन्द ज्यु, मञ्चमा आसिन प्रदेशसभाका सभामुख, उपसभामुख, मन्त्री लगायत प्रदेशसभाका सांसद र यहाँ उपस्थित जनप्रतिनिधि साथीहरु, उपस्थित आदरणीय महानुभावहरु ।

मलाई खुसी लागेको छ, तपाईहरुका सुन्दर गित र नृत्यहरुले, आन्तरिक मामिला मन्त्रीज्युको गित र छन्दहरुले भरिएको भाषणले तपाईहरुको भावनालाई गदगद बनाएको छ । विभिन्न वक्ताहरुको माध्यमबाट हामिले सुन्यौ, यो सुदुरपश्चिम प्रदेश कति रमणीय छ, कति सुन्दर छ । अहिले हामी पर्यटन वर्षका बारेमा छलफल चलाइरहेका छौं । समय समयमा हामीले पर्यटन प्रवर्द्धनका बारेमा छलफल गर्ने गर्दछौं । जतिवेला म प्रधानमन्त्री थिएँ, तपाईहरुलाई थाहा छ, भ्रमण बर्ष २०११ मनाएका थियौं । 

अहिले हामी भिजिट नेपाल २०२० मनाउन गइरहेका छौं । पर्यटन प्रवर्द्धन गर्नका लागि हामी सवै लाग्नुपर्नेछ । यसको महत्वको बारेमा हामीले बुझ्नुपर्दछ । पर्यटकहरुलाई हामी कसरी आकर्षित गर्न सक्दछौं भन्नेबारेमा पनि हामीले जानकारी राख्नुपर्दछ । हामीसँग के छ त्यस्ता चिजहरु, जसप्रति हामी गौरववोध गर्न सक्दछौं । अरु मानिसकाबीचमा त्यो कुरा प्रचार गर्न सक्दछौं । स्वदेशी र विदेशीहरुकाबीचमा त्यो कुरालाई व्यापक रुपमा लैजान सक्दछौं । पर्यटन प्रवर्द्धनका बारेमा चर्चा गर्दा, २० लाख पर्यटन ल्याउने कुरा गरिरहेका छौं । त्यो आन्तरिक पर्यटक होइन, विदेशी पर्यटकहरुलाई हामीले निम्त्याउन चाहेका छौं । विदेशी मुद्रा नेपालमा ल्याउन, नेपालको प्रचार गर्न सकौं र भविष्यमा २ करोड पर्यटक पनि भित्र्याउन सकौं भनेर यो अभियान सुरु गरिएको हो ।

संसारका केही देशहरु पर्यटनमा मात्रै पनि आश्रित छन् । दक्षिण एसियाकै माल्दिभ्समा राज्यको आम्दानीको मुख्य श्रोत भनेकै पर्यटन हो । त्यहाँ ७० प्रतिशत आम्दानीको स्रोत नै पर्यटन छ । हाम्रो देशमा हेर्ने हो भने, पर्यटनबाट आम्दानी त्यो तहमा पुगिसकेको छैन । हामी सँग सँगै पर्यटन प्रवर्द्धनमा लागेका देशहरुले नेपाललाई धेरै उछिनिसकेका छन् । कम्वोडियामा केही बर्षअघि १० हजारको संख्यामा रहेको पर्यटन आगमन अहिले ८० लाख पुगिसकेको छ । कम्वोडियाको जनसंख्या पनि त्यहि सेरोफेरोको छ । हरेक वर्ष त्यो देशको जनसंख्या जति नै पर्यटकहरु त्यहाँ घुम्न जान्छन् । के भन्ने गरिन्छ भने, एक जना राम्रो पर्यटक आयो भने ३ जनाको जीवन संचालन गर्न सकिन्छ । हाम्रो देशको जनसंख्या तीन करोड छ । एक करोड पर्यटक आउने हो भने, तीन करोड मानिसलाई जीवनयापन गर्न गाह्रो हुँदैन । नेपालको सम्भावनालाई हेर्ने हो भने, विशाल सम्भावना छ । सरकारको कुरा गर्ने हो भने, सवै तहका सरकारले पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेका छन् । तर पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भन्नेबारेमा गहिरो अनुसन्धान भएको छैन । पर्यटकका राय सुझाव सुनेर, कमजोरीहरु खोजेर, त्यसलाई सुधार्न लाग्नुपर्ने हो, त्यसतर्फ ध्यान गएको छैन ।

नेपालको अर्थतन्त्रलाई हेर्ने हो भने, कृषि नै यसको आधारशिलाको रुपमा रहेको छ । नेपालको अर्थतन्त्रको जग भनेको कृषि नै हो । तर कृषिसँग अन्य चिजहरु पनि जोडिएको छ । कृषि उत्पादन माला पर्यटकहरुलाई स्वागत गर्न प्रयोग गर्न सक्नुहुन्छ । फलफुलहरु बिक्री गर्न सक्नुहुन्छ । कृषि उत्पादनहरुले होटलहरु संचालन गर्न सकिन्छ । कृषिजन्य उद्योगहरु, दुग्ध होस्, मासु होस्, माछा होस् । त्यसैले कृषिको महत्वलाई कम ठान्नु हुँदैन । तर अहिले कृषिले मात्रै मानिसको जीवन आनन्दले धान्न पुग्दैन । अव कृषिको आधुनिकिरण, यान्त्रिकरण र व्यवसायिकरण गर्नुपर्दछ ।

अहिले अरु क्षेत्रको पनि धेरै महत्व छ, बाटोघाटो बनाउनु पर्नेछ । सडक सञ्जालको विकास गर्नुपर्नेछ । विमानस्थलहरुको विकास गर्नुपर्नेछ । रेलमार्गको विकास गर्नुपर्नेछ । थ्री वेको विकास गर्नुपर्दछ । हाइवे, रेलवे, एयरवेको बिकास गर्नुपर्नेछ । यसअर्थमा हामीले भौतिक पुर्वाधारको विकासलाई महत्व दिइरहेका छौं । दिनुपर्ने आवश्यकता पनि छ । संसारका कतिपय देशमा हेर्नुस्, भौतिक पुर्वाधार तयार भइसक्यो । वाटो, रेलवेको कमि छैन । विमानस्थलको कमि छैन । त्यहाँ धेरै जनशक्ती खपत हुन सक्दैन । मर्मत गरेर काम चल्छ, तर हामीकहाँ केही दसकसम्म भौतिक पुर्वाधार विकासका लागि जनशक्ती चाहिएको छ । त्यो पनि नेपालको अर्थतन्त्रको लागि महत्वपुर्ण छ ।

हामीले जलविद्युत विकासको योजना अघि बढाइरहेका छौं । जलविद्युत उत्पादन क्षमतामा नेपाल महत्वपुर्ण देश हो । तीनवटा ठुला नदिहरु छन् । कर्णालीसँग जोडिएको महाकाली, नारायणी र कोशी, जुन हाम्रो हिमश्रृंखलाबाट बगेर भारतको गंगामा जोडिंदै समुन्द्रमा पुग्छन् । यी नदिहरुबाट प्रसस्त विजुली निकाल्न सक्ने सम्भावना छ । विजुली वेचेर नेपाललाई धनी बनाउन सक्ने सम्भावना छ । गाउँ घर सवै झिलिमिली बनाउन सकिन्छ । उद्योगधन्दा र कलकारखाना चलाउन सकिन्छ । विदेशी लगानीकर्ताहरुलाई पनि आकर्षित गर्न सकिन्छ । यसरी हाम्रो देशको अर्थतन्त्रमा कृषि आधारशिलाको हो भने जलविद्युत र पर्यटन मेरुदण्ड हो ।

मेरुदण्डको रुपमा रहेको जलविद्युतको अनन्त सम्भावना हुँदैन तर पर्यटनको अनन्त सम्भावना छ । यी सवै सन्दर्भमा हामीलाई योग्य मानिस चाहिन्छ । यसअर्थमा शिक्षा र स्वास्थ्यको विकासमा ध्यान दिनुपर्छ । अर्कोतर्फ हाम्रो देशमा रहेका खानीहरुको अन्वेषण र प्रवर्द्धन गर्न सकियो भने पनि नेपाल धनी राष्ट्र बन्न सक्छ । नेपालीहरुले हामी गरिव छौं भनेर टाउकोमा हात राख्नुपर्ने अवस्था छैन । नेपालको धर्तिबाट अभाव र गरिवीलाई अन्त्य गर्ने अठोट गर्न हामी जुर्मुराएर उठ्नुपर्छ । एकतावद्ध भएर अघि बढ्नुपर्छ । नेपालको विकासका जे जति सम्भावना छन् ति सवैलाई उपयोग गर्नुपर्छ । तर यति हुँदा हुँदै पनि हाम्रो देश किन हामीले चाहेजस्तो विकास हुन सकिरहेको छैन ? यसबारे हामीले गम्भीर रुपमा सोच्नुपर्ने आवश्यकता छ । विचार मन्थन गर्नुपर्ने आवश्यकता छ ।

नेपालीहरुको इतिहास निकै पुरानो छ । झण्डै ५ हजार वर्षको इतिहास भएको हाम्रो देश नेपालले कहिलै पनि विदेशीसामु घुँडा टेक्नु परेको छैन । दासता स्वीकार गर्नु परेको छैन । अरुको उपनिवेश हुनु परेको छैन । यसमा हामी नेपालीले गौरववोध गर्नुपर्दछ । हाम्रा दुई विशाल छिमेकी देश छन् । हामी दुवैसँग राम्रो सम्वन्ध राख्न चाहन्छौं । दुवैको विकासबाट लाभ लिन चाहन्छौं । दुवै देशमा रहेको विशाल जनसंख्यालाई नेपालमा आकर्षित गर्न सक्ने हो भने पर्यटकको कुनै कमि हुने छैन । युरोप र अमेरिकाबाट मात्र होइन, चीन र भारतबाट मात्रै (१ अर्व ३० करोड जनसंख्या भएको भारत र १ अर्व ६० करोड जनसंख्या भएको चीन) ठुलो संख्यामा पर्यटक नेपाल आउन सक्छन् । यसैले हामी दुवै छिमेकीसँग राम्रो सम्बन्ध राख्न चाहन्छौं ।

महाकाली नदिको उपयोग गर्ने सन्दर्भमा हामीले २५ औं परियोजनालाई अघि बढाउने कुरा गर्यौं । महाकाली नदि साझा हो, पानी आधा आधा हो भन्ने मान्यतालाई अघि सार्यौं । महाकाली नदिलाई सिमा नदिका रुपमा दुवै देशले स्वीकार गर्यौं । अहिले भारतको नक्सा प्रकाशित भइसकेपछी केही विवाद उत्पन्न भएको छ । तर यो समस्या समाधान गर्न भारतले वार्ताका लागि तयार भएको बताएको छ । अव वार्ता हुनेछ र तथ्य र प्रमाणका आधारमा यी सवै कुराको छिनोफानो हुनेछ भन्ने मैले आशा राखेको छु ।

हामी कसैसँग पनि शत्रुता चाँहदैनौं । चाहे भारत होस् वा अमेरिका । हामी कुनै देशसँग पनि टाँसिन चाहँदैनौं । हाम्रो लागि सवै देशहरु मित्र नै हुन्छन् । हामीलाई शत्रुता बढाउनु छैन । सवैसँग मिलेर अघि बढ्न चाहन्छौं किनभने नेपालको संस्कार नै वसुधैव कुटुम्वकम् हो । नेपाल विश्वभरका मानिससँग सौहार्दपुर्ण सम्वन्ध राख्न चाहन्छ । गौतम वुद्ध जन्मेको भुमि यहि नेपाल हो । वुद्धले बिश्व शान्तीको सन्देश यहि भुमिबाट संसारमा छर्नुभएको छ । त्यस्तो देशका हामी बासिन्दाहरुले सवैसँग मिठो सम्वन्ध राख्न चाहन्छौं ।

तर हामी आफ्नो स्वाभिमानप्रति, हाम्रो आन्तरिक मामिलामा अहस्तक्षेप प्रति निकै संवेदनशील पनि छौं । यसअर्थमा अहिले उठिरहेका प्रश्नहरु, चाहे कालापानी भुभागको प्रश्न होस् चाहे एमसीसीसँग जोडिएको प्रश्न होस् । यी बिषयमा हामी यहि मान्यताका आधारमा, कसैका विरुद्ध लक्षित हुने कुरामा हामी लाग्दैनौं । कसैसँग शत्रुता मोल्न चाहंदैनौं । नेपालको सम्मान सवैले गरुन् । आन्तरिक मामलामा कसैले हस्तक्षेप नगरुन् भन्ने हामी चाहन्छौं । कहिंकतै कमजोरी भएका छन् भने त्यसलाई सुधारौं । कुराहरु प्रष्ट पार्न सकिएको छैन भने, गलत समाचार सम्प्रेषण भएको छ भने प्रष्ट पारौं । नेपाली स्वाभिमानी भावनालाई सवैले बुझिदिन पनि हामी आग्रह गर्न चाहन्छौं ।

धेरै लामो समयदेखि देस विकासका लागि हामीले पञ्चवर्षीय र त्रिवर्षीय योजनाहरु अघि सारेका छौं । विभिन्न सरकारले विभिन्न योजनाहरु अघि सारेका छन् । मैले सम्झिरहेको छु, प्रधानमन्त्री हुँदा मैले सुदुरपश्चिमको विकासका लागि महत्वपुर्ण परियोजनाहरु अघि सारेको थिएँ । तपाईहरुले सम्झनुपर्छ, विर्सन हुँदैन । सुदुरपश्चिममा विश्वविद्यालयको स्थापना र मेडिकल कलेजको स्थापना मेरै पालामा भएको थियो । महाकालीको सन्दर्भमा, नदि साझा हो, पानी आधा-आधा हो भनेर संसदमा कुरा उठाउने हामी नै थियौं । त्यतिवेला प्रेमसिंह धामी, उर्वादत्त पन्त लगायत नेताहरुले महाकाली नदिको सन्दर्भमा धेरै अध्ययन गरेर भन्नुभयो- महाकाली सिमा नदि भएकोले यसको किनारा लगाउन भारतले छिटो भन्दा छिटो सिमा समस्यालाई टुङ्गो लगाओस् । त्यतिवेला हामीले पत्राचार पनि गरेका थियौं । भारतका प्रधानमन्त्रीसँग हामीले कुरा पनि गरेका थियौं । हामीले पठाएका पत्रहरु छापेर कितावका रुपमा पनि राखेका छौं । यसअर्थमा हामी तथ्यका आधारमा अगाडी बढ्न चाहन्छौं । सवैको लाभको निम्ती अघि बढ्न चाहन्छौं । कसैको विरुद्धमा नेपालको भुमि प्रयोग नहोस् भन्ने कुरामा पनि हामी निकै सम्वेदनशील छौं ।

लामो समयदेखि हामीले उठाउँदै आएको कुरा के हो भने- पञ्चेश्वर परियोजनालाई अघि बढाऔं । त्यहाँबाट उत्पादित विजुली आधा नेपालको हक लाग्छ, आधा भारतको हक लाग्छ, दुवैले उपयोग गरौं । सम्भावना ७ हजार मेगावाट भनिएको थियो, ६ हजार मात्रै उत्पादन भयो भने पनि ३ हजार नेपालको हक लाग्छ ३ हजार भारतको हक लाग्छ । त्यो काम अहिलेसम्म अघि नबढ्दा हामीलाई खल्लो महसुस भएको छ । त्यो ढिलाईलाई छिटो भन्दा छिटो टुङ्गो लगाउनुपर्छ । यहि पानीको उपयोगको सन्दर्भमा नेपालको भुमि सिंचित हुने कुरामा पनि बञ्चित नहोस् भन्नेमा हाम्रो ध्यान जानुपर्छ ।

यहि क्षेत्रको विकासको सन्दर्भमा, महाकाली करिडोर, सेती राजमार्ग र मध्यपहाडी राजमार्ग पनि हाम्रै पालामा अघि सारिएको हो । मध्यपहाडी राजमार्ग निर्माणको क्रममा बन्ने १० वटा ठुला शहरहरु मध्ये २ ठुला शहरहरु, एउटा वैतडीको पाटनमा र अर्को अछामको साँफेमा निर्माण गर्ने योजना पनि अघि बढाइएको थियो । अव विकासका काम अघि बढाउने जिम्मा तपाईहरुको काँधमा आएको छ । यहाँका मुख्यमन्त्री, मन्त्रीज्युहरु, प्रदेशसभाका सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधिहरुले यहाँको विकासका लागि केन्द्रबाट पाउनुपर्ने र तपाईहरुले दिनुपर्ने ध्यान पनि पर्याप्त मात्रामा दिनुपर्ने आवश्यकता छ ।

मलाई खुसी लागेको छ, राम्रो काम गर्ने नगरपालिकाहरु मध्ये (धेरै मैले हेर्न पाएको छैन) वेदकोट नगरपालिका पनि परेको छ । प्रमुख अशोक चन्दजीलाई म धेरै धन्यवाद दिन चाहन्छु । मैले स्थानीय तहमा भ्रष्टाचार भयो भन्दा, हामीलाई त भनेको होइन भनेर तपाईहरुको मनमा चस्स पर्यो होला । जसले वदमासी गर्यो, उसलाई पो डर लाग्छ । जसले वदमासी गरेको छैन, उसको शीर ठाडो हुन्छ । त्यसैले  नविराउनुहोस्, डराउनुपर्ने कुनै कारण छैन ।

यहाँको विकासका लागि वेग्लै योजना बनाउनुपर्ने आवश्यकता पनि छ । शिवलिंगेश्वरको भ्रमण गर्ने क्रममा पनि मैले भनेको थिएँ, त्यहाँ यस्तो तीर्थस्थल बनाउनुहोस्, मेची देखि महाकालीसम्मका शिवालयमा शिव भगवानका जति पनि रुपहरु छन् ती सवैलाई त्यहाँ स्थापित गरिदिनुहोस् । शिवका सवै स्वरुपहरु राख्नुभयो भने त्यो हेर्न मेची देखि महाकालीसम्मका मानिसहरु मात्र होइन, भारतका हिन्दु धर्मावलम्वीहरु र संसारभरका हिन्दु धर्मावलम्वीहरुलाई पनि आकर्षित गर्न सक्नुहुन्छ ।

अत्तरियादेखि गड्डाचौकीसम्मको सडकलाई सकिन्छ भने आठ लेन, होइन भने छ लेन बनाउने योजनालाई पनि तपाईहरुले पहिलो प्राथमिकता दिनुहोस् । संघीय सरकारले पनि यसमा ध्यान देओस् भन्ने कुरामा म जोड दिन चाहन्छु । मेचीदेखि महाकालीसम्म निर्माण भएको राजमार्गलाई ६ लेन र ८ लेनमा विकास गर्ने काम विभिन्न चरणमा अघि बढिरहेको छ । त्यसपछी छोटो समयमा हामी महाकालीबाट मेची पुग्न सक्नेछौं । रेलमार्गको विकास पनि धमाधम भइरहेको छ, आगामी ५ देखि १० बर्षभित्र पुरा हुँदैछ । ४२ महिनामा टर्कीको स्तानवुल विमानस्थल बनेको थियो । १ हजार किलोमिटर बाटो उत्तर कोरियाले १ बर्षमा निर्माण गरेको छ । हाम्रो काममा कहाँ छ त्रुटी ? खोज्नुपर्दछ । सवै कुराहरु गर्न सम्भव छ । हामी अव विकासको काममा केन्द्रित हुनुपर्दछ ।

सुदुरपश्चिममा विकासको विशाल सम्भावना छ । चाँदनी दोधारामा सुख्खा बन्दरगाहको वेग्लै सम्भावना छ । महाकाली सिंचाइको तेस्रो चरणको योजना पनि अघि बढ्ने क्रममा छ । गौरीफन्टादेखि मानसरोवरसम्म सडक निर्माणको पनि सम्भावना छ । पश्चिम सेतीको हाइड्रोपावर प्रोजेक्ट लामो समयदेखि अलपत्र छ । अपर कर्णाली लामो समय रोकिएको थियो अव अघि बढ्ने क्रममा छ । कृषि विकासको सन्दर्भमा उँखुको सुपरजोन निर्माणमा सरकारले किन ध्यान दिएन भनेर पनि तपाईहरुले कुरा उठाउनुभएको छ । सुदुरपश्चिमका खप्तड, मालिका सहित कयौं ठाउँहरु पर्यटकीय महत्वका छन् ।

नेपालको विशेषता के छ भने, यो विविधताले भरिएको त छ नै, दुईवटा धर्मको उद्गमस्थल पनि हो । हिन्दु धर्मको उद्गास्थल पनि यहि नेपाल हो भने वुद्ध धर्मको उद्गमस्थल पनि यहि देश नेपाल हो । एक अर्वको संख्यामा रहेका हिन्दुहरुलाई आकर्षित गर्न धार्मिक स्थलहरुलाई प्रवर्द्धन गर्न सक्नुपर्छ । लुम्विनी मात्र होइन, कपिलवस्तु र नवलपरासीसम्म वुद्ध सर्किटले जोड्न सक्ने हो भने ८० करोड देखि १ अर्व वुद्धिष्टहरुको गन्तव्य स्थल नेपाल हुन सक्छ । तपाईहरुको यस क्षेत्रको पनि छुट्टै विशेषता छ ।  सिंगो देश विकासको पनि थुप्रै सम्‍भावना छन् । हरेक प्रदेशका आफ्नै सम्भावना छन् । हिजोमात्र चिनियाँ टोलीसँग मैले भनेको थिएँ, तपाईहरु शुक्लाफाँटा जानुभएन र चितवनको मात्रै भ्रमण गर्नुभयो भने भ्रमण अधुरो रहन्छ । चितवन पनि घुम्नुस् । कोशी टप्पु पनि घुम्नुस् । बर्दिया निकुञ्ज पनि घुम्नुस् । शुक्लाफाँटा पनि जानुस् । फेवा ताल पनि हेर्नुस् । रारा पनि जानुस् ।

यो क्षेत्र आफैमा पनि प्रकृतिको अनुपम सौन्दर्यले भरिएको छ । यसलाई थप सुन्दर कसरी बनाउने ? सुन्दर बनाउने नाममा बन विनास नहोस् भन्नेमा पनि ख्याल गर्नुस् । रुख काट्नै परेको छ भने खाली ठाउँमा ५-१० गुणा धेरै विरुवा रोपेर क्षतिपुर्ती गर्ने काम पनि गर्नुस् । रुख हुर्किने सुनिश्चितता पनि गर्नुस् । प्राकृतिक सुन्दरतालाई कसरी जोगाउन सकिन्छ त्यसमा ध्यान दिनुहोस् । अव डाँडाकाँडामा बस्ति बसाउने होइन, डाँडाकाँडामा हरियाली सुनिश्चित गर्ने कुरामा विशेष जोड दिनुस् । त्यसो गर्न सके शुक्लाफाँटा मात्र होइन, धेरै हिसावले यो ठाउँ सुन्दर प्राकृतिक स्थलका रुपमा संसारमा चिनिनेछ । हाम्रो देश प्राकृतिक हिसावले सुन्दर त छ नै प्राकृतिक स्रोत साधनमा धनी पनि छ । नदीनालाका हिसावले पनि धनी छ । यसअर्थमा यो देशलाई अघि बढाउन हामी सवै लाग्नुपर्ने खाँचो छ । देशलाई विकासको बाटोमा अघि बढाउन सरकारले संकल्प गरेको छ । सुखी नेपाली, समृद्ध नेपालको नारा दिएको छ । यो नारालाई साकार पार्नका लागि हामीले गर्नुपर्ने कुरा के के होलान् ? शिक्षित र अनुशासित नागरिक बनाउनुपर्ने, मेहेनेती मानिसहरु तयार गर्नुपर्न, देशभक्तीको भावना जगाउनुपर्ने, देश विकासका लागि प्रतिवद्ध मानिसहरु तयार गर्नुपर्ने, योग्यता र क्षमताको कदर गर्ने परिपाटी बसाल्नुपर्ने आवश्यकता छ ।

हालै भएको साग खेलमा उपाधी जित्ने यहि क्षेत्रका दुईजना नानीहरुलाई हामीले यहाँ सम्मान गर्यौं ।  म बधाइ दिन चाहन्छु र उत्तरोत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु । समाजको जुनसुकै क्षेत्रमा अघि बढ्नेहरुलाई हामीले प्रोत्साहित गर्नुपर्छ । नेपाल सवै जातजातीको साझा फुलवारी हो । कुनै पनि जातजातीप्रति हामीले भेदभाव गर्नु हुँदैन । हाम्रो देशमा १२६ वटा जातजाती छन् । १२३ वटा भाषाभाषी छन् । हामी ति सवैको सम्मान गर्न चाहन्छौं । सातै प्रदेशलाई अघि बढाउन चाहन्छौं । विभिन्न ऐतिहासिक कारणले पछी परेको यो सुदुरपश्चिमलाई पनि हामीले विकासको मुल प्रवाहमा समाहित गरेर लैजान चाहन्छौं । तपाईहरु पनि यो राष्ट्रिय अभियानमा हातेमालो गरेर अघि बढ्नुहोस् । जसरी पर्यटन प्रवर्द्धनका लागि भिजिट नेपाल २०२० सँग जोडेर, सवै गाउँ र नगरपालिकामा पनि यहि सन्देश प्रवाह गर्ने उद्धेश्यले र सवैलाई उत्प्रेरित गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गर्नुभएको छ । यसले राम्रो सन्देश दिएको छ भन्ने मैले ठानेको छु । एउटा कुरा ख्याल गर्नुस्- सडक निर्माणलाई तपाईहरुले प्राथमिकता दिनुभएको छ, खाल्डाखुल्डी मुक्त बाटो बनाउनुहोस् । पिच बाटोमा खाल्डा नहोस् भन्ने कुरामा सुनिश्चिता गर्नुस् । मैले आफ्नो क्षेत्र काठमाडौं २ मा भन्ने गरेको छु- नगरपालिकाका मेयर र वडा अध्यक्षलाई, आफ्नो कार्यकालभित्र नगरक्षेत्रका सवै सडक पिच होस् । ति सवै बाटो पिच गर्न उहाँहरु तयार हुनुहुन्छ । तपाईहरु पनि बाटो घाटो बनाउने कुरामा, पिउने पानीको प्रवन्ध गर्ने कुरामा, वृक्षारोपण र खुला पार्क निर्माण गर्ने कुरामा, सीप विकास गर्ने कुरामा, घरेलु उद्योगलाई प्रोत्साहन दिने कुरामा विशेष रुपमा ध्यान दिनुहोस् ।

भ्रष्टाचार नगर्नुहोस् । अहिले लोभ गर्नुभयो भने, लाभ त होला तर पछी विलाप सुरु हुन्छ । एउटा भनाइ नै छ- लोभले लाभ, लाभले विलाप । नाम कमाउनुहोस् । नाम चम्काउनुहोस् । सवैले तपाईको जय जय गरुन् । इतिहासले तपाईको प्रशंसा गरोस् । इतिहासले तपाईलाई नविर्सिने मात्र होइन, जनताले पनि विर्संदैनन् । पार्टीले पनि बिर्सिंदैन । सवै जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पुरा गर्नुहोस् । आफ्नो वस्तीलाई सुन्दर बनाउनका लागि, सफा बनाउनका लागि, मनोरम बनाउनका लागि, सुसंस्कृत बनाउनका लागि, असल मानिस बस्नलायक बनाउनका लागि भौतिक प्रगति मात्र होइन आत्मिक र आध्यात्मिक चेत जगाउने गरी  समष्टिगत विकासको सोंचका साथ तपाईहरु अघि बढ्नोस् ।  यो कार्यक्रम भव्य रुपमा आयोजना गर्नुभएकोमा नगरपालिकाका प्रमुख, उपप्रमुख सहित सहभागि सवैलाई धेरै धेरै धन्यवाद दिंदै, नगरपालिकाले उत्तरोत्तर प्रगति गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दै, म आफ्नो भनाइ यहिं टुग्याउँछु हवस् त धन्यवाद । नमस्कार ।

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्