Madhav Kumar Nepal

जैनव खातुनको पुस्तक विमोचन समारोहमा सम्वोधन, २०७६ पुस १०, पोखरा

 आजको यस कार्यक्रमका अध्यक्ष ज्यु, मञ्चमा आशिन सवै अतिथि महानुभावहरु, पत्रकार साथीहरु लगायत सवै महिला तथा सज्जनवृन्द । आज विहान सवेरै देखि पोखराको चिसो (न्यानो) मा आनन्दले हामी विभिन्न कार्यक्रममा सहभागि भएका छौं । त्यसैक्रममा पोखरास्थीत पृथ्वीनारायण क्याम्पसमा नयाँ कक्षामा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्ने कार्यक्रममा सहभागि हुँदै तपाईहरुको माझमा आएका छौं । यहाँ आइपुग्दा यस्तो व्यक्ति, मुस्लिम समुदायको सम्भवत मैले थाहा पाएसम्म पहिलो महिला पुस्तक लेखिका जैनव खातुनको पुस्तक विमोचन गरेका छौं । म किन आकर्षित भएको हो भने यो समुदाय नेपाली समाजको पिछडिएको समुदायभित्र पर्छ ।

व्यक्तिगत रुपमा भन्दा, म जन्मेको रौतहट जिल्ला सदरमुकाम गौर मुस्लिमहरुको वस्तिभित्र नै मेरो घर पर्दछ । म जन्मिदा र बाल्यकालमा काखमा राखेर एकजना मुस्लिक आमाले मलाई हुर्काउन भुमिका खेल्नुभएको थियो । सिंगो मुलुकमा रहेका मुस्लिम समुदायमध्ये रौतहट नै यस्तो जिल्ला हो, जहाँ सवैभन्दा धेरै मुस्लिम समुदायको वसोवास छ । मैले चर्चा गर्नैपर्छ, रौतहट जिल्लामा अहिले सांसदको रुपमा दुई जना मुस्लिम महिला एकजना प्रतिनिधि सभामा र अर्को एक कम्युनिष्ट पार्टीमा लामो योगदान गरेकी, कम्युनिष्ट आन्दोलनमा समर्पित भएर लागेकी ७० वर्ष पार गरेकी हसिमा खातुनलाई प्रदेशसभामा पठाएका छौं । अर्को, प्रतिनिधिसभामा सविना हुसैन खातुन हुनुहुन्छ । अर्को तनहुँमा सक्रियतापुर्वक अघि बढ्नुभएकी कलिला खातुन प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । नेपालगञ्जकी सविना हुसैन पनि सक्रिय हुनुहुन्छ । अहिले नयाँ प्रतिभाका रुपमा जैनव खातुन आउनुभएको छ । उहाँले नेपालका मुस्लिम समुदाय भन्ने पुस्तक लेख्नुभएको छ ।

यसअघि उहाँले न्याय हराएको शहर भन्ने पुस्तक पनि लेखेर आफ्नो परिचय र पहिचान दिन सफल हुनुभएको छ । उहाँलाई म धेरै धेरै बधाई दिन चाहन्छु । उहाँलाई सहयोग गर्ने सहयोगीहरुलाई पनि धेरै धन्यवाद दिन चाहन्छु । यो पुस्तकको सन्दर्भमा, मैले जैनव खातुनलाई बुझेको थिइन । मैले देखेको त थिएँ । धेरै सुनेको पनि थिइन । बुझ्न त बल्ल अहिले बुझ्दैछु । पुस्तकको भुमिकामा उहाँले लेखेको शव्दले उहाँको  लेखनीमा रहेको शक्तिलाई, सौन्दर्यलाई र मिठासलाई प्रतिविम्मित गरेको छ ।

सुरुमा लेखिएको छ: सुर्यको प्रकाशमा हराएको चाँदनी रात जस्तै, काँडाहरुको जंजिरमा फुलेको गुलावको रोदन खोजेजस्तै,  हजारौं ताराहरुको बीचमा पृथक बनेको पृथ्वी जस्तै म धर्म र संस्कारको नाममा हराएको मेरो पहिचान खोज्दै अवसरहरुको आन्दोलन गर्न यो पुस्तक लेखेको छु । शव्दहरुले आफैमा इतिहास व्यक्त गर्ने रहेछ । कुन कालखण्डमा, कसले, कसका लागि, के-के गर्न भ्याए ? गर्न लगाए ? ति कुराहरु लिपिबद्ध हुँदै जाँदा आफैमा इतिहास बन्ने रहेछ । इतिहास कतिलाई सुन्दर लाग्दो होला, कतिलाई कुरुप पनि । कसैलाई सुन्दर लागेको इतिहास पढ्दै जाँदा, हिजोको वास्तविकता र आजको अवस्थाबीच अल्झिएको मेरो समुदायको वर्तमान र भविष्य चिन्तन गर्न मन लागेर मैले यो पुस्तक लेखें । म साहित्यकार होइन । इतिहासका पानाहरु पल्टाउँदै जाँदा पुर्खाहरुको वलिदानी गाथा केलाउँदै जाँदा मलाई मेरो इतिहासले गिज्याइरहे जस्तो लाग्यो । अनि मन बहकियो, केही न केही लेख्ने हुटहुटी चल्यो र यो पुस्तक लेखें । क्या वात ! क्या वात ! बधाई छ ।

तपाईहरुले यो पुस्तक पढ्नैपर्ने छ, किनेर । किनभने मेहेनेत गर्ने मानिसलाई प्रोत्साहन गर्नुपर्छ । यहाँ लेखिएका कुराहरुलाई पढ्दै जाँदा तपाईहरुलाई लाग्छ यति मिठो छ लेखाइ । हिमालमा बस्नेले बख्खु लगाओस् कि पहाडमा बस्नेले दौरा सुरवाल कसोस्, तराईमा बस्नेले धोति लगाओस् । जसले जे वस्त्र लगाए पनि त्यसभित्र रहेको तन र मन त नेपाली नै हो । म भन्दा माथि मेरो देश छ । सर्वप्रथम म आफुलाई नेपाली भन्छु, अनि मात्र मेरो धर्म, संस्कार, रीतिरिवाज । हामी सवै नेपालीको साझा पहिचान नेपाली हो । अनि मात्र धर्म, वर्ण, क्षेत्र र वर्ग हुनेछ भन्ने सन्देश छर्न मैले यो पुस्तक लेखेकी छु ।

यसरी यो समुदायको चर्चा गर्दा मैले पढ्न त पाएको छैन, धेरै प्रसंशै प्रसंशा होला, क्रिटिकल पनि हुनुपर्यो, पढेपछी मैले थप टिप्पणी गरौंला । मैले मुस्लिम समुदायको बारेमा धेरै जान्दछु । मैले नजान्ने कुरा पनि भएन, किनभने त्यहि बस्तिमा म बस्दै आएको छु । त्यो समुदायभित्रको नेता र २०१५ सालको चुनावमा देशभरबाट जित्नेमध्ये एकजना मुस्लिम नेता थिए, शेख फरमान, रौतहट जिल्लाबासी । मुस्लिम समुदायभित्र कम्युनिष्ट पार्टी कति लोकप्रिय रहेछ, त्यसको तपाई एउटा संकेत पाउन सक्नुहुन्छ शेख फरमानको माध्यमबाट । तर सवै शेख फरमान हुँदा रहेनछन् । महाअपराधी पनि हुँदा रहेछन् । मानिसलाई जिउँदै भट्टीमा हाल्दा पनि रहेछन् ।

धर्तिमा मानिसमात्रै होइन मानवता भित्र दानवता बोकेकाहरु पनि देखा पर्छन् । दानवीयताको पनि चर्चा गर्नुपर्यो । दानवीयताको चर्चा गर्दा, एसिड पीडित मुस्कान खातुन जो ७ कक्षामा पढ्थिन् । एसिड प्रहारबाट उनको अनुहारको एक हिस्सा नै बिभत्स छ । उनको उपचारको निम्ती हालै वुद्ध वाज वर्न इन नेपाल भन्ने फिल्म प्रदर्शन गरिएको थियो । मैले उनको शिक्षाको सन्दर्भमा एउटा होष्टेल र स्कुल खोजिदिन्छु भनेको थिएँ । यो हाम्रो दायित्व भित्र पर्दछ । मानवताका भक्षक र कुकृतको शिकार भएकी पीडितको उद्धार गर्ने र जीवन फेरी आशापुर्ण बनाउने जिम्मेवारी तपाई हाम्रो हो । राजनीतिको हो । समाजको हो । सरकारको हो । हामी सवैको हो । त्यहि सन्दर्भमा मैले उनलाई पनि सम्झें । त्यो समुदायभित्रको एउटा प्रवृतिलाई पनि देखें । यस्ता प्रवृतिहरु मैले धेरै देखेको छु । सुनेको पनि छु । यस्तो सशक्त लेखनी भएको मानिसले आफ्ना पाइला अगाडी बढाउनुपर्यो ।

देशव्यापी रुपमा मुस्लिम समुदाय सवैभन्दा पछाडी परेको छ । त्यहाँभित्र महिलाहरुलाई पढ्नै नदिने खालको प्रवृति छ । दिइयो भने पनि धार्मिक शिक्षा मदरसा बाहेक अरु दिंदैनन् । यहि समुदायमा शेख हसिना प्रधानमन्त्री भएर बर्षौं शासन गरेकी छिन् । वेनजिर भुट्टो र  म आफै २ हजार सालमा एउटा संगठन वनाउन संगै लागेका थियौं, एसियन पोलिटिकल पार्टीज् कम्फरेन्स । वेनजिर भुट्टो, मुस्लिम महिला नेता पाकिस्तानको प्रधानमन्त्री बनिन् । महिलाले गर्न नसक्ने कुरा के छ र ? चाहे मुस्लिम हुन् वा गैरमुस्लिम । दलित हुन् वा गैरदलित । आदिवासी हुन् वा जनजाती ।

, सामाजिक विकृति र असमानताको घोर विरोधी हुँ । सामाजिक न्यायको पक्षपोषक हुँ । असल संस्कारको हिमायती हुँ । जव म २०४७ मा संविधान बनाउन मस्यौदा आयोगको सदस्य भएँ, मौलानाहरु मलाई भेट्न आएका थिए र उनिहरुले माग गरेका थिए- धार्मिक कानुन अनुसार मुस्लिमहरुको अधिकार सुनिश्चित गरियोस् भनेर । मैले अस्वीकार गरेको थिएँ । अरु देशमा भए पनि हाम्रोमा हुँदैन भनेर अस्वीकार गरिएको थियो । नेपालमा एउटै संविधान र एउटै कानुन हुन्छ । किनभने त्यसभित्रका कतिपय कुराहरु हामीलाई थाहा छ । त्यहाँ पुरुषलाई विशेष अधिकार दिइएको छ । अनुचित कुराहरु र कुनै पनि धर्मभित्र विकृति छन् भने त्यसका विरुद्ध लेख्नुपर्यो । बहिस्कार गर्छन् कि भनेर डराउनु हुँदैन । हामी साथमा छौं ।

मुस्लिम बहुल नाइजेरीया, लेवनान लगाएत ठाउँमा म गएको छु । मुस्लिम महिलाहरु बुर्काभित्र बसेका छन् । पाकिस्तानमा म गएँ । रावलपिण्डी वा लाहोर हेर्नुस्, महिलाहरु बुर्काभित्र लुकेर बसेका छन् । हिन्दु धर्ममा पनि बुहारीको नाममा घुम्टो ओडेर बस्नुपर्ने चलन अहिले पनि छ । धेरै जाडो भएर त्यसो गरिएको होइन, यो सामन्ती संस्कार हो । सामन्ती संस्कारलाई वोक्नुपर्ने कुनै जरुरी छैन । सामन्तवादका अवशेषलाई बोक्ने हाम्रो जिम्मा होइन, फाल्ने हाम्रो जिम्मेवारी हो ।

सामाजिक रुपान्तरणका लागि सशक्त लेखनीको आवश्यकता छ । सामाजिक जागरणका लागि सशक्त लेखनीको आवश्यकता छ । नयाँ चेतना, नयाँ संस्कार प्रदान गर्नका लागि सशक्त लेखनीको आवश्यकता छ । सशक्त लेखनी भएका विश्व प्रसिद्ध लेखिकाहरु छन् । उनिहरुका पुस्तकहरु पनि पढ्नुस् । उनिहरुको बारे लेखिएका पुस्तक पढ्नुस् । समाज परिवर्तनका लागि कसरी सशक्त रुपमा अघि बढिरहेका छन् ? मानिसले बाँच्न लायक समाज वनाउनका लागि ।

म भन्न चाहन्छु महिला नेत्रीहरुलाई, तपाईहरु पनि आफुलाई काविल बनाउनुहोस् । योग्य मानिसलाई अघि बढाउनुहोस् । अव आउने पुस्तालाई त्यो ढंगले हुर्काउनुहोस् । अघि बढ्न अभिप्रेरित गर्नुहोस् । हाम्री आमाले पनि खासै पढ्नुभएको थिएन । तर उहाँले हामीलाई संस्कार दिनुभयो । हाम्रै निम्ति उहाँको जीवन समर्पित भयो । त्यस्ती असल आमा हामी देख्न चाहन्छौं । असल वावु देख्न चाहन्छौं हामी । छोराछोरीका लागि राम्रो परिवेश, परिवारभित्रको परिवेश, समाजको परिवेश, विद्यालयको परिवेश, त्यस्तो परिवेशले हामीलाई प्रभाव पारेको हुन्छ ।

केही समयअघिको चुनावमा तपाईहरुले विद्या भट्टराईलाई जिताउनुभयो, तपाईहरुले न्याय र अन्याय छुट्याउनुहुँदो रहेछ । ठिक- वेठिकको राम्रो ज्ञान रहेछ । कसैको भ्रममा पनि पर्नुहुँदो रहेनछ । म पोखरावासीलाई पनि धेरै धेरै बधाई दिन चाहन्छु । नवप्रतिभाहरुलाई, महिला आन्दोलनका योद्धाहरुलाई धन्यवाद दिंदै आगामी दिनको यात्रा राम्रो होस्, सवै हिसावले तपाईहरु चम्किरहनुहोस् । हाम्रो मनोकामना पनि पुरा गर्ने गरी देशको सान र मानलाई माथि उठाउने काममा भुमिका खेल्नुहोस् भन्दै म आफ्नो मन्तव्य यहिं टुङ्ग्याउँछु । धन्यवाद । 

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्