Madhav Kumar Nepal

सपथग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी

कार्तिक ५, २०७३, विराटनगर,  पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधव कुमार नेपाल सुनसरीको इटहरीमा आयोजना हुने परिक्षणकालीन पार्टी सदस्यहरुको सपथग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन आज विहान १०ः०० बजे बुद्ध एअरको उडान नं. ७०५ बाट विराटनगर प्रस्थान गर्नुभयो । विराटनगर विमानस्थलमा पुग्दा पार्टी केन्द्रीय सदस्य जीवन घिमिरे, के.स. शिवमाया तुम्बाहाम्फे, मोरङ्ग जिल्ला अध्यक्ष महेश रेग्मी, केन्द्रीय कमिटीका बैकल्पिक सदस्य धर्म निरौला, सुनसरी जिल्ला अध्यक्ष दोरिकलाल चौधरी, सुनसरी सचिव नन्द बस्नेत, सुनसरीका सभासद् रेवती भण्डारी, अनेरास्ववियु सचिव ओसिम आलम सहित ठूलो संख्यामा उपस्थित कमरेडहरुले स्वागत गर्नुभयो, विराटनगर विमानस्थलबाट उहाँ सिधै इटहरीको रिजाल भिजनमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भई कार्यक्रमको उद्घाटन तथा मन्तव्य राख्नुभयो । मन्तव्यका क्रममा उहाँले पुष्पलालको विचारको जगमा गरिएको सहकार्यबाट नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भएको, नेकपा (एमाले)को नेतृत्वमा गणतन्त्र स्थापना एवम् दशक लामो हिंसात्मक विद्रोहलाई शान्ति प्रक्रिया मार्फत समाधान गरिएको, नेकपा (एमाले)को दृढ अडान एवम् पहलकदमीका आधारमा संविधानसभा मार्फत संविधान निर्माण भएको जस्ता ऐतिहासिक घटनाक्रमहरुलाई स्मरण गर्दै संविधानको कार्यान्वयन एवम् आर्थिक विकास एवम् जनतालाई सम्बृद्ध बनाउने अभियानको नेतृत्व समेत नेकपा (एमाले)ल गर्ने दाबी गर्नुभयो । परीक्षणकालिन सदस्यता प्राप्त गर्ने झण्डै १३०० कमरेडहरुलाई स्वागत गर्दै उहाँले एमालेमा संगठित हुने सबैलाई गर्वको महशुस हुने गरी पार्टी अगाडि बढ्ने विश्वास दिलाउनुभयो । नियम, कानुन, विधि र प्रक्रिया प्रत्येक संस्था एवम् निकायले मान्नुपर्ने कुरा उल्लेख गर्दै उहाँले आफुलाई सर्वेसर्वा ठान्ने, नियोजित रुपमा प्रतिशोध लिने र अरुलाई अपमान गर्ने प्रवृत्तिका कारण नै अख्तियार प्रमुख विरुद्ध महाअभियोग दर्ता भएको कुरा उल्लेख गर्नुभयो । योग्यताको आधारमा जिम्मेवारी, विधिको आधारमा पार्टी सञ्चालन र प्रत्येक सदस्यहरुलाई न्यायोचित जिम्मेवारी प्रदान गरेर नै पार्टीलाई बलियो एवम् एकिकृत बनाउन सकिन्छ भन्ने कुरा उल्लेख गर्दै उहाँले सवल एमालेले मात्र नेपालको आर्थिक विकास एवम् समृद्धिको नेतृत्व गर्नसक्छ भन्ने कुरा उल्लेख गर्नुभयो । उक्त कार्यक्रम पश्चात उहाँ इटहरी स्थित मितेरी होटलमा पुगी प्राध्यापकहरुद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनुभयो । 
इटहरीका कार्यक्रम तथा भेटघाटहरु सम्पन्न गरी उहाँ रात्रीबासको लागि विराटनगरको होटल ह्यारिसन् प्यालेस पुग्नुभएको छ । उक्त होटलमा उहाँले स्थानीय नेताहरु लगायतका महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट गर्नुभएको छ । उहाँ भोली विराटनगरमा आयोजना हुने जेष्ठ नागरिक महोत्सवमा सहभागी भई काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । 

 

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्