Madhav Kumar Nepal

विज्ञप्ती

    मितिः ६ पौष, २०७२

 
हिजो पौष ५ गते रौतहट जिल्लाको गौर नगरपालिकामा आन्दोलनकारी एवम् सुरक्षाकर्मी बीच झडप हुँदा एक जना कक्षा १० मा पढ्ने विद्यार्थीको दुःखद निधन एवम् सुरक्षाकर्मी तथा आन्दोलनकारी तर्फ कैयन व्यक्तिहरु घाइते भएको खवरले मलाई स्तब्ध बनाएको छ । दुःखको यस घडिमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछु । साथै सम्पूर्ण घाइतेहरुको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
लोकतन्त्रमा शान्तिपूर्ण विरोध र आन्दोलन गर्ने अधिकार प्रत्येक नागरिकलाई हुन्छ तर पनि आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको हनन् नहोस् भन्नेतर्फ हामी सबै सजग रहनुपर्दछ । त्यसमाथि आन्दोलनमा बालबालिकाको प्रयोग गर्ने र विद्यालय तहका विद्यार्थीहरुलाई लगाउने कुरालाई त झन् कदापी स्वीकार गर्न सकिदैन । अतः जारी आन्दोलनमा आवश्यक संयमता अपनाउन, मानवअधिकारको संरक्षण गर्न, सामाजिक सद्भाव कायम गर्न र जनताको जीउधनको रक्षा गर्न आन्दोलनकारी एवम् सुरक्षा निकाय सहित राज्यका सम्पूर्ण अङ्गहरुलाई विशेष अपील गर्दछु । 
अन्त्यमा, तराइ–मधेसका जनतालाई उत्पिडनबाट मुक्ति दिलाई अधिकार सम्पन्न बनाउन हाम्रो पार्टी ने.क.पा. (एमाले)ले आफ्नो स्थापनाकालदेखि नै अगुवाइ गर्दै आएको कुरालाई स्मरण गर्दै कुनै पनि भड्काउमा नलागी सामाजिक सद्भाव र राष्ट्रिय एकता सहित आर्थिक समृद्धिको बाटोमा हातमालो गरी अगाडि बढन सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक अपील गर्दछु । 
माधव कुमार नेपाल
पूर्व प्रधानमन्त्री तथा नेता
नेकपा (एमाले)
सभासद्–रौतहट–१
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्