Madhav Kumar Nepal

भारतीय राजदूतद्वारा भेट

१८ कार्तिक, काठमाडौँ, नेपालका लागि भारतीय राजदूत रणजीत रायले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । आज विहान ११ः३० बजे देखि पूर्व प्रधानमन्त्री नेपालको नीजि निवास कोटेश्वरमा भएको भेटमा वहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुराकानी भयो । 

 
भेटमा भारतीय राजदूत रायले पछिल्लो समयमा नेपाल–भारत सम्बन्धमा केही समस्या देखिएको र नेपालमा भारतप्रति नकारात्मक भावनाको बृद्धि भैरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । वहाँले भारतले नाकाबन्दी नगरेको र मधेस केन्द्रित दलहरुको आन्दोलनलाई भारतले सहयोग गरेको भनी गरिएको प्रचार सत्य नभएको कुरा उल्लेख गर्नुभयो । केही दिन पहिले सरकार तथा आन्दोलनरत पक्षको वार्ता सकारात्मक भएको समाचारसँगै आफुहरुपनि खुसी भएको कुरा उल्लेख गर्दै वहाँले नेपालको आन्तरिक समस्या समाधान होस् र नेपालका राजनीतिक पार्टीहरु मिलेर मुलुकलाई सम्बृद्धिको बाटोमा अघि बढाउन् भन्ने भारतीय चाहना रहेको कुरा समेत उल्लेख गर्नुभयो ।
 
जवाफमा पूर्व प्रधानमन्त्री नेपालले नेपालको आन्तरिक समस्या सकेसम्म सर्वसम्मत र नसके पनि अधिकतम सहमतिका आधारमा समाधान गर्न दलहरु प्रतिबद्ध रहेको कुरा उल्लेख गर्दै आपूर्ति समस्याका कारण नेपाली जनताले पाइरहेको कष्टप्रति संवेदनशील हुन राजदूत मार्फत भारत सरकारसँग आग्रह गर्नुभयो । वहाँले नेपालमा भारत विरोधी धारणा विकास हुनमा के–कस्ता कुराहरुले प्रभाव पा¥यो भनी विशेष अध्ययन गर्नुपर्ने र त्यसको आधारमा समाधान खोज्नुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । 
 
वहाँहरुबीच अहिले देखिएका समस्याहरु समाधान गरी नेपाल–भारत सम्बन्धलाई पूर्ववत एवम् थप बलियो बनाउने विषयमा कुराकानी भएको छ ।
 
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्