Madhav Kumar Nepal

नवनियुक्त अमेरिकी राजदूतद्वारा भेट

२९ असोज, २०७२, काठमाडौँ 
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत अलइना बी. टेपलिजले पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । आज विहान ८ बजे पूर्व प्रधानमन्त्रीको नीजि निवास कोटेश्वरमा भएको भेटमा संविधान जारी भएपछिको नेपालको अवस्था, तराई–मधेसको आन्दोलन, नेपालको आपूर्ति व्यवस्थामा देखिएको समस्या तथा नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भयो । 
सबैभन्दा पहिले नेपलका लागि अमेरिकाको राजदूतको रुपमा जिम्मेवारी सम्हाल्न नेपालमा आउनुभएकोमा राजदूत टेपलिजलाई पूर्वप्रधानमन्त्री नेपालले स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै वहाँको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । 
नवनियुक्त अमेरिकी राजदूतले स्वागतको निम्ति धन्यवाद ज्ञापन गर्नुका साथै दुइ देश बीचको सम्बन्धलाई थप उचाई दिन आफू प्रयत्नशील रहने कुरा उल्लेख गर्नुभयो । 
उक्त भेटमा नवनियुक्त राजदूतले संविधान निर्माण र जारी भैसकेपछि आन्दोलनरत पक्षहरुसँग भैरहेका सहमति प्रयासहरु, सीमा क्षेत्रमा देखिएको अवरोध एवम् आपूर्ति व्यवस्था, पूर्वाधार सहित नेपालको आर्थिक विकासका संभावना लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो । उक्त जिज्ञासाहरुको विषयगत रुपमा चर्चा गर्दै पूर्व प्रधानमन्त्री नेपालले नेपाल स्वतन्त्र एवम् सार्वभौम राष्ट्र रहेको र भुपरिवेष्ठित राष्ट्रको पारवाहन अधिकारमा कतैबाट पनि बाधा नपुगोस् भन्ने तर्फ अन्तर्राष्ट्रिय समुदायलाई सजग रहन समेत अनुरोध गर्नुभयो । वहाँले संविधान निर्माणका क्रममा दलहरुका तर्फबाट आंशिक कमजोरी गरेको कुरालाई स्वीकार गर्दै मधेसमा संविधानको विषयमा फिजाइएको भ्रम चिर्नुका साथै आन्दोलनकारीहरुको भावनालाई मनावैज्ञानिक रुपमा समेत सम्बोधन गर्नु जरुरी रहेको कुरा उल्लेख गर्नुभयो । वहाँले भन्नुभयो “कुनै पनि जायज विषयलाई संविधान शंसोधन मार्फत सम्बोधन गर्न वर्तमान संविधान खुल्ला रहेको छ”। 
अमेरिकी राजदूतले निरन्तरको छलफल र सम्वादबाट सबै आन्तरिक समस्याहरुको समाधान गर्न नेपालका राजनीतिक दलहरु सफल हुनेमा अमेरिकी सरकार तथा अमेरिकी जनता विश्वस्त रहेको कुरा उल्लेख गर्नुभयो भने पूर्व प्रधानमन्त्री नेपालले असमझदारीहरु अन्त्य गर्न र संविधानको सफल कार्यान्वयन गर्न दलहरुबीच संवाद जारी रहेको कुरा उल्लेख गर्नुभयो ।
आजको भेटवार्ताले दुइ देश बीचको कुटनीतिक सम्बन्धमा थप योगदान दिएको छ । 
 
 
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्