Madhav Kumar Nepal

शुभकामना !

 मितिः १६ असोज, २०७१ 
नेपालीहरुको महान चाड विजया दशमीको शुभ–अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण जनसमुदायहरुमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । 
प्रत्येक वर्ष मात्र होइन समयको प्रत्येक पल व्यक्ति एवम् राष्ट्रको लागि समेत महत्वपूर्ण हुन्छ । त्यसमा पनि लम्बिरहेको संक्रमणकालबाट गुज्रिरहेका हामी नेपालीको निम्ति समयको महत्व अझ बेसी हुनु स्वाभाविक छ । यसर्थः आउँदो वर्ष हामी सबै नेपाली एवम् त्यसमा पनि राजनीतिको मूल नेतृत्वमा बस्नेहरुका लागि अवसर र चुनौति दुबैको रुपमा उपस्थित हुनेछ । अधिकार प्राप्तिको आन्दोलनमा प्राप्त उपलब्धीहरुलाई समयमै संविधान निर्माण गरी संस्थागत गर्दै सबैमा कर्तव्यबोधको भावना सहित आर्थिक विकासको बाटो खोल्न सकेमा मात्र अवसर र समृद्धि प्राप्तिको जनचाहनालाई पुरा गर्न सकिनेछ । यसको निम्ति आ–आफ्ना हठहरुलाई त्यागेर लचकताका साथ सहमति निर्माण गरी राष्ट्रिय एकताको भावना सहित जनताको शक्तिलाई एकिकृत गर्नु आजको अपरिहार्य आवश्यकता हो । 
यस वर्षको विजया दशमीले नेपालको मूल राजनीतिक नेतृत्वलाई उल्लेखित कार्य सफलतासाथ सम्पन्न गर्न अभिपे्ररित गर्न सकोस् भन्दै सम्पूर्ण नेपालीहरुलाई सुख, शान्ति र समृद्धिको कामना सहित पुनश्चः विजया दशमीको शुभकामना व्यक्त गर्दछु ।
 
   
माधव कुमार नेपाल
पूर्व प्रधानमन्त्री, नेता, नेकपा (एमाले)
एवम् संविधानसभा सदस्य 
 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्