Madhav Kumar Nepal

हामी सफल भएनौँ भने अरू कोही सफल हुँदैन

माधवकुमार नेपाल, प्रधानमन्त्री
नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपाल, संयुक्त सरकारको प्रधानमन्त्री हुनुभएको छ । उहाँ नेकपा (एमाले), नेपाली कांग्रेस, मधेसी जनअधिकार फोरमसहितका २२ दलको समर्थनमा मुलुकको प्रधानमन्त्री निर्वाचित हुनुभएको हो ।

५७ वर्षअघि रौतहटको गौरमा जन्मनुभएका नेता नेपालले २०२६ सालमा पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । त्यसयता उहाँ निरन्तर कम्युनिस्ट आन्दोलनको विकास, विस्तार र नेतृत्वमा सक्रिय रहनुभएको छ । ०५० जेठमा नेकपा -एमाले) को महासचिव बन्नुभएका उहाँ १५ वर्षसम्म पार्टीको मुख्य नेता रहनुभयो । ०६४ चैत २८ को संविधानसभा निर्वाचनमा पार्टी र स्वयम् आफैंले पनि अनपेक्षित पराजय भोग्नुपरेपछि उहाँले नैतिकताको आधारमा महासचिव छाड्नुभएको थियो । तर उहाँ नेकपा -एमाले) को प्रस्ताव तथा नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डको लिखित र नेपाली काङ्गे्रस्का सभापति गिरिजाप्रसाद कोइरालाको मौखिक समर्थनपश्चात् संविधानसभाका सभासद् सुशीलचन्द्र अमात्यलाई फिर्ता गरी सो स्थानमा मनोनित हुनुभयो र संवैधानिक समितिको सभापति बन्नुभयो ।

बिकम उत्तिर्ण गर्नुभएका नेता नेपालसँग ०४७ को संविधान मस्यौदा आयोगको सदस्य भई काम गरेको अनुभव छ । साथै, राष्ट्रिय सभा र प्रतिनिधि सभाको प्रमुख विपक्षी दलको नेतासमेत रहिसक्नुभएको छ । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनपश्चात् विधानतः नै बरिष्ठ नेता चयन हुनुभएका उहाँ जेठ ९ गते प्रधानमन्त्री नियुक्त हुनुभयो ।

प्रस्तुत छ, नवयुगका लागि सूर्य थापाले प्रधानमन्त्री निवास बालुवटारमा जेठ २६ गते बिहान ८ः३० बजे गर्नुभएको संवादः

० तपाईं आफ्नो राजनीतिक जीवनको एउटा उत्कर्षको जिम्मेवारी प्रधानमन्त्री पदमा आसिन हुनुभएको छ, निकै खुसी हुनुहुन्छ ?

- म खुसीभन्दा पनि बढ्ता गम्भीर छु । किनभने परिस्थिति जटिल र चुनौतीपूर्ण छ । सरकारले गुर्नपर्ने कामहरू अत्यन्तै महत्वपूर्ण छन् । तिनलाई कसरी पूरा गर्न सकिन्छ भन्ने कुरामा म बढ्ता गम्भीर बनेको छु ।

० संविधानसभाको चुनावपछि मुलुक संविधान निर्माणमै केन्दि्रत हुने सबैभन्दा महत्वपूर्ण काम थियो, त्यसलाई सफलतापूर्वक अगाडि बढाउन सकिएलाजस्तो लागेको छ ?

- संविधान निर्माणको काम मूलतः पार्टीहरूबीचको सहमति, समझदारी र सहकार्यमाथि निर्भर हुन्छ । यदि सहमतिको वातावरण र सहकार्यको अवस्था भयो भने संविधान निर्माणको काम सहज गतिका साथ अगाडि बढ्न सक्छ । तर, सहमतिको वातावरण भएन, सहकार्यको अवस्था रहेन भने संविधान निर्माणको काम अघि बढ्न सक्दैन । त्यसो हुन नसक्दा संविधान निर्माणमा प्रतिकूल असर पर्नसक्छ । साथै, संविधान निर्माणको कामसँग शान्ति-प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने कुरा घनिष्ठरूपमा जोडिएको छ । यी दुइवटै कुरासँग राष्ट्रिय सहमतिको निर्माण र सहकार्यको स्थिति सिर्जना गर्ने कुरा अत्यन्तै महत्वपूर्ण र अभिन्न रूपमा गाँसिएको छ । त्यसो हुनाले अनुकूल राजनीतिक वातावरणको निर्माण गर्ने कुरामा नै म मुख्य रूपमा लागेको छु । तर, संविधान निर्माणको प्रक्रिया पनि आफ्नो स्वाभाविक गतिका साथ अगाडि बढ्दै जाओस् भनेर संविधानसभाले कतिपय विषयगत कुराहरू अगाडि बढाइरहेको छ ।

० सत्ताबाट अनपेक्षित ढङ्गले बाहिरिनुपरेका कारणले पनि हुनसक्छ, माओवादी अलि बढी तिक्त र आलोचक बनिरहेको अवस्था छ । ऊबिनाको शान्तिप्रक्रिया कसरी अगाडि बढ्ला ? माओवादीलाई कसरी समेट्न खोज्दै हुनुहुन्छ ?

- एकीकृत नेकपा -माओवादी)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेपछि उत्पन्न भएको रिक्तताको स्थिति हो यो । तर यो रिक्ततालाई पूरा नगरी रहन त सकिँदैनथ्यो । त्यसो हुनाले माओवादीहरू चिढिनुपर्ने कुनै आवश्यकता छैन । राजीनामा दिने आफूले अनि राजीनामा दिइसकेपछि अर्को प्रधानमन्त्री भयो भनेर रिसाउनुपर्ने वा चिढिनुपर्ने कुनै आवश्यकता छैन । यदि चिड्चिडाहट छ भने पनि आफैँसँग हुनुपर्‍यो- किन राजीनामा दिएको भनेर ? आफैँले किन त्यस्तो वातावरण सिर्जना गरेको ? किन पार नलाग्ने काममा हात हालेको ? हात हालिसकेपछि पार लगाउने कोसिस किन नगरेको भन्ने प्रश्न त आफैँप्रति खडा हुन्छ । त्यसो हुनाले मेरो आग्रह छ, त्यस्ता कुराबाट अब उहाँहरू मुक्त हुनुपर्छ । र, दूरगामी सोचका साथ छलफल गर्नुपर्छ । शान्तिप्रक्रिया अरूको मात्रै होइन, उहाँहरूसमेत सबैको साझा दायित्व हो । संविधान बनाउने दायित्व माओवादीसमेतको हो । गणतन्त्रलाई संस्थागत गर्ने, माओवादी सेनाका लडाकुहरूको व्यवस्थापन गर्ने र समायोजन गर्ने जिम्मेवारी पनि माओवादीसमेतको साझा दायित्व हो । मुलुकको प्रतिष्ठालाई माथि उठाउने दायित्व माओवादीको पनि हो । यदि यो देशै बर्बाद होस् भनेर सोच्ने हो भने बेग्लै कुरा, अन्यथा आफू सवार भएको नाउ डुबेपछि अरू सँगसँगै आफू पनि डुबिन्छ भन्ने बुझ्नुपर्‍यो । किनभने हामी सबै नेपाल राष्ट्रको एउटै नाउमा सवार छौँ । हिजो आन्दोलनको नाउमा सवार थियौँ, अब नयाँ नेपालको निर्माण गर्ने नाउमा सँगसँगै सवार भएका छौँ । यस तथ्यप्रति जिम्मेवारीबोध गर्दै हृदय अलि फराकिलो पारेर, आफ्नै कारणले उत्पन्न भएको परिस्थितिको यथार्थलाई स्वीकार गरेर र अहिले नेकपा -एमाले)को नेतृत्वमा गठित सरकारको उदारता र लचिलोपनाको फाइदा उठाएर एकीकृत नेकपा -माओवादी) अगाडि बढ्नु र बढ्न खोज्नु बुद्धिमानीपूर्ण हुनेछ भन्ने म ठान्दछु ।

० माओवादी आक्रोशित मुद्रामा सडकमा छ । ऊ सहमतिको प्रक्रियामा छैन । यही स्थितिमा संविधान निर्माणको कामको नेतृत्व गर्न सकिन्छ र राष्ट्रलाई नयाँ संविधान निर्धारित समयभित्रै दिन सकिन्छ भनेर आश्वस्त पार्न सक्नुहुन्छ त ?

- आकाशमा कहिलेकाहीँ कालो बादल देखापर्छ । तर, त्यो कालो बादलको उपस्थिति क्षणिक मात्रै हुन्छ । राजनीतिक आकाशमा देखापरेको अहिलेको कालो बादलको स्थिति पनि छिट्टै हट्छ । बादलले छाडेपछि जब सूर्य चम्किँदै धर्तीमा प्रकट हुन्छ, तब धर्तीभरि उज्यालो छाउँछ । तसर्थ, अहिलेको क्षणिक अप्ठ्यारो र प्रतिकूलता देखेर तपाईं-हामी आत्तिन सक्छौँ तर आत्तिनु हुँदैन । आत्तिएर समस्याको सामना गर्न सकिँदैन । आत्तिने र विचलित हुनेले परिस्थितिमा कुनै परिवर्तन गर्न सक्दैनन् । हामी परिस्थितिमा परिवर्तन गर्न सङ्कल्पका साथ अगाडिको यात्रामा हिँडिरहेका छौँ । त्यस्तो स्थितिमा मलाई के लाग्छ भने अहिले देखापरेका समस्या र अप्ठ्याराहरू अस्थायी मात्रै हुन् । किनभने माओवादीले स्वयम् पनि यस स्थितिका बारेमा विचार-मन्थन गरिरहेको हुनुपर्छ । उनीहरूले हाम्रो व्यवहारलाई पनि नियालिरहेका होलान् । र, मनमा रहेका आशङ्काहरू विस्तारै हटाउनुपर्छ भन्ने ढङ्गले सोचिरहेका होलान् । हामी विश्वस्त छौँ- हामीप्रति कुनै आशङ्का छ भने हाम्रो व्यवहार र वस्तुगत यथार्थ थाहा पाएपछि नेकपा -माओवादी)ले त्यसलाई न्यून गर्दै जानेछ । माओवादीप्रति रहेको हाम्रो मनको आशङ्कालाई पनि उसले आफ्नो व्यवहारबाटै हटाउने र आफ्ना सीमाहरूको जानकारी गराउने काम गर्दै त्यसमा सुधार ल्याउने र विश्वासको वातावरण सिर्जना गर्ने काम गर्नुपर्छ । अनि सहकार्यको नयाँ परिवेश निर्माण हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।

० नयाँ सहमति बन्न नसक्दा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका मन्त्रीहरूको नियुक्तिको सूचनासम्म पनि व्यवस्थापिका-संसद्ले पाउन सकेको छैन । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कुरामै जटिलता आउन सक्छ । तसर्थ, सहमतिका लागि ठोस पहल चाहिँ के गरिरहनुभएको छ ?

- सहमतिको ठोस पहल मैले प्रधानमन्त्री हुनेबित्तिकैदेखि गर्दै आएको छु । जस्तो कि एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट्न आफैँ उहाँको निवासमा पुगेँ । मन्त्रिमण्डलको प्रारम्भिक गठन हुनेबित्तिकै म संविधानसभामा रहेको प्रधानमन्त्रीको चेम्बरमा पुगेर एकीकृत नेकपा (माओवादी) का संसदीय दलका उपनेता, प्रमुख सचेतकलगायतका वरिष्ठ व्यक्तित्वहरूलाई बोलाइकन संवाद गरेँ र संसद्भित्रको अवरोध हटाउनुपर्‍यो भन्ने आग्रह गरेँ । नेपाली काङ्गे्रस र नेकपा -एमाले) का सचेतकसँग पनि मैले त्यहीँ संवाद गरेँ र माओवादीसँग वार्ता-संवादको प्रक्रिया अघि बढाउनका लागि भनेँ । सँगसँगै मैले एकीकृत नेकपा -माओवादी)का अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर अब यो संसद्मा विद्यमान गतिरोध हटाउनुपर्छ भन्ने आग्रह गरेँ । उहाँले पनि सकारात्मक जवाफ दिनुभयो र कुराकानी सकरात्मक दिशामा अगाडि बढिरहेको छ ।

० सरकारले पूर्णता नपाउँदै कतिपय मुद्दामा जस्तो कि सेना समायोजन नगर्ने र अदालतमा मुद्दा विचाराधीन रहेको आठ जर्नेलको म्याद थप्ने ढङ्गका विवादास्पद निर्णय र बोली आए, त्यसबाट त माओवादीलाई कुनै ँस्पेस’ दिने होइन झन् अविश्वास बढाउने काम हुन पुगेन र ?

- आठ जर्नेलको अदालतमा विचाराधीन विषयका बारेमा कानुनी क्षेत्रका विज्ञहरूसँग छलफल गरी निर्णय लिने काम भएको छ । त्यसले अदालतलाई यो मुद्दा टुङ्गो लगाउन सजिलो भएको छ । वादी वा प्रतिवादीमध्ये कसैले मुद्दा फिर्ता लियो र मुद्दालाई सजिलो बनाउनका लागि काम गर्‍यो भने त्यसले अदालतको काममा हस्तक्षेप भएको ठहरिँदैन । त्यसका निम्ति मैले कानुन व्यवसायीहरू, महान्यायाधिवक्ताको कार्यालय र कानुन मन्त्रालयका पदाधिकारीहरूसँग पनि कुराकानी गरेँ । उहाँहरूको परामर्शअनुसार यसले सजिलै बनाउँछ भन्ने भयो । फेरि जुन व्यक्तिहरूको म्याद बढाइएको छ, सहायक रथीमा रहेका ती सबै 'कम्पिटेन्ट' व्यक्तिहरू छन् । उनीहरू नेपाली सेनाका राम्रा 'क्याडर' हुन् भन्ने कुरा बुझेर नै त्यस्तो निर्णय गरिएको हो । एकीकृत नेकपा -माओवादी)को नेतृत्वको सरकारका तर्फबाट पनि उनीहरूको अवधि बढाउने भनेर पहिले प्रारम्भिक अवस्थामा एकसरो निर्णय भइसकेको रहेछ । यो कुरा मैले जानकारी प्राप्त गरिसकेपछि अब राजनीतिक लफडामा पर्नु जरुरी छैन, सक्षम 'क्याडर'हरूको भविष्यमा कुनै खेलबाड गर्नुहुँदैन भन्ने ठानेर त्यसलाई अघि बढाउने निर्णय भयो, यसलाई माओवादी मित्रहरूले पनि सहज रूपमा लिनुपर्छ ।

० माओवादी लडाकुको समायोजन नै नगर्नु सम्भव छ त ?

- समायोजनका सन्दर्भमा विभिन्न सहमति-सम्झौताहरू भएका छन्, मुख्यतः शान्ति सम्झौतामा जे लेखिएको छ, त्यसैबमोजिम गर्ने हो । नेकपा -माओवादी)का लडाकुहरूलाई समायोजन, पुनःस्थापना र व्यवस्थापन गर्ने सन्दर्भमा जुन सहमति भएको छ, त्यो सहमतिबाट वर्तमान सरकार अलिकति पनि दायाँबायाँ हुँदैन । हाम्रा कुनै पनि मन्त्रीले समायोजन हुँदैन र गर्दैनौँ भनेर भनेको मलाई थाहा छैन । किनभने यसबारेमा मैले सोधिसकेको छु । जुन सहमति भएको छ, त्यसभन्दा भिन्न ढङ्गले जाने कुरा मेरो दिमागमा पनि छैन भनेर उहाँ -रक्षामन्त्री विद्या भण्डारी)ले भन्नुभएको छ मलाई । त्यसो हुनाले बाहिर के आयो भन्ने कुराको आधारमा चल्नुहुँदैन, के यथार्थ हो, त्यस आधारमा चल्नुपर्छ । बरु वर्तमान सरकार नेकपा

-माओवादीका लडाकुहरूलाई राम्ररी व्यवस्थापन गर्ने सन्दर्भमा विगतमा जे सहमति भएको छ, पुनःस्थापना, समायोजन वा अरू के गर्नुपर्छ ती सबै काम सहमतिका आधारमा गरेर जे टुङ्गो लाग्छ त्यसअनुरूप अघि बढ्न तयार छ ।

० हिजो माओवादीको नेतृत्वमा सरकार बन्दा काङ्ग्रेस सरकारमा थिएन, आज तपाईंको नेतृत्वमा सरकार बन्दा माओवादी सरकारमा छैन । यदि एमाले, काङ्गे्रस, माओवादी र फोरमसहितको सहमतिको सरकार बनेन भने नयाँ संविधान बन्दैन, राज्यको पुनःसंरचना गर्न पनि सम्भव छैन । र, राष्ट्रिय सहमतिको वातावरण समेत बन्दैन । अहिले यो चिन्ताको स्थिति रहेको छ, तपाईंले भड्किरहेको माओवादीलाई कसरी 'स्पेस’ दिनुहुन्छ ?

- म माओवादीका नेताहरूलाई फेरि पनि आग्रह गर्छु, अहिलेको सङ्क्रमणकालमा अलग-अलग ढङ्गले जाने होइन, सँगसँगै मिलेर जानुपर्छ । त्यसका निम्ति सरकारमा हामी सँगसँगै काम गरौँ, एउटै सरकारमा सहभागी बनौँ र मिलेर देशका समस्याको समाधान गरौँ । नेकपा -एमाले)को नेतृत्वमा नेकपा -माओवादी)सहितको सर्वदलीय सरकार बन्यो भने त्यसले सबै किसिमका चुनौतीहरूको सहज रूपमा सामना गर्न सक्नेछ । त्यसमा नेकपा -माओवादी)ले सहयोगको हात बढाउनुपर्छ । हिजो माओवादी नेतृत्वको सरकारलाई नेकपा -एमाले)का तर्फबाट सहयोगको हात बढाइएको थियो, हामीले सहयोग गरेको नै हो, पूर्णरूपमा साथ दिएको हो । अहिले हामी उहाँहरूबाट त्यही व्यवहारको अपेक्षा गर्दछौँ । म त्यसका निम्ति फेरि पनि उहाँहरूलाई आग्रह र आह्वान गर्दछु ।

० तपाईंको नेतृत्वमा जुन नयाँ सरकार बनेको छ, वामपन्थी नेतृत्वको भए पनि यो सङ्ख्यात्मक हिसाबले दक्षिणपन्थी बर्चश्वको सरकार बन्ने र आफूविरुद्धको षड्यन्त्रमा सामेल हुने पो हो कि भन्ने माओवादीहरूको मुख्य चिन्ता देखिन्छ । यस कुरामा राजनीतिक रूपमा उनीहरूलाई आश्वस्त पार्ने कुनै उपाय अवलम्बन गर्नुहुन्न ?

- पहिलो त सरकारमा दक्षिणपन्थी वर्चश्व हुँदैहुँदैन । किनभने नीतिको वर्चश्वको कुरा पहिलो हुन्छ । नीतिका हिसाबले लोकतान्त्रिक र प्रगतिशील बर्चश्व हुन्छ । सङ्गठनात्मक र भौतिक रूपमा पनि वामपन्थी नेतृत्व छ । यो सिधा कुरा हो । भौतिक रूपमा र सङ्गठनात्मक रूपमा नेतृत्व भइसकेपछि वैचारिक रूपमा पनि वामपन्थीकै वर्चश्व हुन्छ । म स्वयम् यस सरकारको शीर्ष स्थानमा रहेको छु र नेतृत्व गरिरहेको छु । यसो हुनाले यो सरकार दक्षिणपन्थी दिशामा किमार्थ जाँदैन । 'किङ', 'बेबीकिङ'का जुन वाहियात कुरा भइरहेका छन्, कसैले आफैँ ब्यूँझाउन चाहेको पो हो कि भनेर मान्छेले उल्टै शङ्का गर्नुपर्ने स्थिति छ । मैले भनिसकेँ- त्यो बेकारको कुरा हो । मुलुकलाई आमूल परिवर्तनको दिशामा लैजान नचाहेर सरकार यथास्थिति वा दक्षिणपन्थी दिशामा जाने हो कि भन्ने आशङ्का छ भने त्यो किमार्थ हुनसक्दैन । यदि माओवादीहरूले आफ्ना अभिव्यक्ति, गतिविधि, नीति-दस्तावेज र निर्देशनहरूलाई मुठभेडमूलक बनाउन चाहने हो भने र विद्रोहात्मक बनाउन थाल्ने वा सत्ताकब्जाको दिशातर्फ जान थाल्ने हो भने त्यस्तो अवस्थामा परिस्थिति नियन्त्रणभन्दा बाहिर जान सक्दैन भन्न सकिँदैन । तर, त्यस स्थितितर्फ जानबाट रोक्ने साँचो माओवादीको हातमा रहेको छ । मैले आफ्नो सरकारका तर्फबाट उहाँहरूप्रति हात बढाइसकेको छु । अब माओवादीले कस्तो 'रेस्पोन्स' गछनर्् ? भन्ने पर्खिरहेको छु । उनीहरूले यो सरकारलाई कमजोर ठान्न पुग्छन् भने गम्भीर गल्ती हुनेछ । किनभने हाम्रो उदारता र लचकतालाई कसैले पनि कमजोरी ठान्नुभएन । मैले त विषबमन पनि सुनिरहेको छु र भनेको छु, नीलकण्ठले झैँ सबै विष हलाहल पिएर बस्न तयार छु ।' मलाई विषवृक्ष भन्दा पनि भनेँ, सके राम्रो फल दिन्छु, सकिनँ भने पनि शीतल छहारीसम्म दिने कोसिस गर्न तयार छु ।

वास्तवमा, हामी इतिहासबाट शिक्षा लिन्छौँ र अघि बढ्छौँ । तसर्थ, इतिहासबाट सिकेर एकले अर्कोलाई धेरै घुर्की-धम्की लगाउने, चुनौती नै दिने तरिकालाई बन्द गरौँ । म त घुर्की र धम्कीको बाटोमा जानै चाहन्नँ । म विनम्रतापूर्वक संस्कार, मर्यादा, सम्मान, सहअस्तित्व र सहकार्यको संस्कृतिलाई अगाडि बढाउन चाहन्छु । म नेपाल र नेपाली जनतालाई समृद्ध र सुसंस्कृत बनाउन चाहन्छु । नेपाल राष्ट्रलाई विकसित र आधुनिक रूपमा अघि बढाउन चाहन्छु । सबै किसिमका विभेद, असमानता, अन्याय, अत्याचार, शोषण, उत्पीडन र भेदभावको अन्त्य गरेर मैले यो मुलुकलाई साँचो अर्थमा समानता, न्याय र समृद्धितर्फ अघि बढाउन प्रयत्न गर्छु । नेपाल राष्ट्रको इज्जत, प्रतिष्ठा, मर्यादा र स्वाभिमान माथि उठोस् । म नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता अक्षुण रहोस् भन्ने चाहन्छु । यिनै मान्यताका आधारमा मैले आजसम्मको राजनीतिक जीवन व्यतित गरेको छु, आफूलाई समर्पित गरेको छु र केही गरौँ भन्ने सङ्कल्पका साथ यहाँसम्म आइपुगेको छु । म गफाडी होइन, र यहाँ गफ गर्न आएको पनि होइन । म काम गरेर देखाउनका लागि यहाँ आएको हुँ । काम गरेरै देखाउनका लागि म सबै योग्य, असल र राम्रा मान्छेहरूको साथ र सहयोग चाहन्छु । सबैको सहयोगबाट जस्तासुकै अप्ठ्याराहरू पार गर्न सकिन्छ भन्ने मेरो दृढ विश्वास रहेको छ । म आशावादी मान्छे हुँ, निराशा र प्रत्येक अप्ठ्याराहरूलाई पार गर्नसक्ने विश्वासका साथ आजसम्मको राजनीतिक यात्रा पार गर्दै आएको छु । त्यसैले म केही गर्न सकिन्छ भनेर नै बढी आशावादी छु ।

० तर, नेपालको इतिहासतिर फर्केर हेर्दा २००७ सालदेखि अहिलेसम्मका सबैजसो सरकारले पूर्ण अवधि काम गर्न पाएको देखिँदैन । संविधानसभाको चुनावपछि पनि एउटा सरकारको ९ महिना हाराहारीको अवधि कायम हुने खतरा देखिँदैछ । तपाईर्ंले झन्डै एक महिना त सरकारलाई पूर्ण आकार दिन नसकेरै बिताउँदै हुनुहुन्छ । अब तीन महिनाभित्र के गर्ने ? ६ महिनामा के गरिसक्ने ? यस ढङ्गले कामको अवधि र परिणाममुखी प्रयास अघि बढाउने बारेमा केही सोच्नुभएको छ ?

- मैले त्यसरी काम सुरु गरिसकेँ । मैले केही बौद्धिक व्यक्तित्वहरूलाई बोलाएर छलफल गरेँ । नेपाल सरकारका सचिवहरूलाई एकसय दिनभित्र गरिसक्ने कामहरू के हुनसक्छन् ? एकवर्षभित्र के काम गर्नुपर्छ ? नीति तथा कार्यक्रम कस्तो हुनुपर्दछ ? बजेट कस्तो हुनुपर्दछ ? भन्नेबारेमा व्यापक परामर्श र छलफल गरिसकें । सबैको सामूहिक बुद्धिका आधारमा नै हामी अघि बढ्नुपर्छ । किनभने यो सरकार आम नेपाली जनताको चाहना र भावनाअनुरूप बनेको सरकार हो । यसले जनताको चाहना र भावनाअनुरूप नै आफ्नो सारा प्रयत्नलाई अघि बढाउनेछ ।

० आवधिक रूपमै देखिने गरी काम गर्दै जानुहुन्छ ?

- हो । आवधिक रूपमा कामको योजना बनाएर अगाडि बढ्नैपर्छ । अझै वातावरण त्यति अनुकूल बन्न सकिरहेको छैन, अप्ठेराहरू छन् । केही समय त्यसैमा लागे पनि यो यथार्थ सबैले बुझी पनि रहनुभएको छ । साँच्चै भन्नुहुन्छ भने म नयाँ तरिका र नयाँ कार्यशैली अपनाएर सकेसम्म धेरैलाई साथमा लिएर सबैको सद्भाव प्राप्त गर्दै अगाडि बढ्न चाहन्छु । कम्तिमा कसैले नराम्रो गरेको भन्ने आरोप लगाउन नसकून् । सकेसम्म राम्रो गर्ने खालको मान्छे हो, साँच्चै केही गर्नसक्ने खुबी र क्षमता भएको मान्छे हो भनेर जनताले महसुस गर्ने स्थिति हुनसक्यो भने मैले त्यसलाई आफ्नो सफलता ठान्नेछु ।

० तपाईंले २२ दलीय गठबन्धनको सरकारलाई नेतृत्व गरिरहनुभएको छ । गठबन्धनमा ँभ्यागुताको धार्नी पुर्‍याउन असाध्यै गाह्रो मानिन्छ । हिजो शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार इतिहासकै सबैभन्दा धेरै गलत कामको कीर्तिमान राखेर बिदा हुनुपरेको थियो । त्यसखाले स्थिति नहोस् भन्नेतर्फ कति सचेत हुनुहुन्छ ?

- अहिलेसम्म त मलाई कसैले एउटा लाञ्छना पनि लगाउनसकेका छैनन् । किनभने २२ दलहरू सबैले यो आवश्यकता महसुस गरेका छन् कि मिलेर जाने कुराको कुनै विकल्प छैन । तर, त्यस्तो विकृत स्थिति र अनुचित अवस्था नआओस् भन्नका लागि सकेसम्म सचेत हुँदै अनुकूल अवस्था सिर्जना गर्न कोसिस गर्नैपर्छ । नेकपा -माओवादी)ले पनि त्यसका निम्ति सकारात्मक हिसाबले सोच्नु राम्रो हुनेछ ।

० तपाईंहरूमाथि 'फोरम’ फुटाएको आरोप त लागिसक्यो, होइन र ?

- फोरमभित्र जटिलताहरू छन् । त्यसलाई राम्ररी बसेर-छलफल गरेर हल गर्नुपर्छ ।

० यो सरकारले पूर्णता चाहिँ कति समयभित्र पाइसक्ने हो ? कुनै समयसीमा बनाउनुभएको छ ?

- मैले भनिरहेको छु- सकेसम्म छिटो गरौं । त्यसका लागि नै मेरो प्रयत्न जारी छ । मैले धेरैचोटि भनिसकेको छु कि छिटोभन्दा छिटो गर्ने नै मेरो चाहना छ ।

० अनि प्रधानमन्त्रीको हैसियतमा प्रचण्डले पहिलो विदेश भ्रमण चीनको गर्नुभएको थियो । त्यसअघि पहिले भारत जाने चलनजस्तै थियो । तपाईंले पहिले कुन देशको भ्रमण गर्नुहुन्छ ?

- निमन्त्रणा जहाँबाट पहिले आउँछ, त्यहीँ गइन्छ । अहिले एउटा भारतबाट नियमन्त्रणा आएको छ, त्यहाँ गइन्छ । दोस्रो इजिप्टबाट आएको छ, असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनका लागि त्यहाँ गइन्छ ।

० यो सरकारका सामु जेजस्ता जटिलता छन्, ती सबैलाई पार गरेर मुलुकको नेतृत्व गर्दै अगाडि बढाउन सकिन्छ भन्ने आत्मविश्वासमा हुनुहुन्छ तपाईं ?

- हो, जनताको चाहना पनि त्यही हो । यसमा हामी सफल भएनौँ भने अरू कोही पनि सफल हुँदैन ।

० यस सन्दर्भमा तपाईंले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउन के योगदान गर्नुहुन्छ त ?

- पार्टीभित्र सहमति र समझदारीको वातावरण बनोस् भन्ने मेरो अधिकतम् प्रयत्न हुन्छ । तदनुरूप सबै कुरा मिल्छ र मिलाउनुपर्छ । त्यसको कुनै विकल्प छैन ।

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्