Madhav Kumar Nepal

सुरेश कार्कीको पुस्तक विमोचनमा सम्बोधन गर्नुभएको मन्तव्य

यस समारोहका सभापति तथा आज विमोचित पुस्तकका स्रष्टा सुरेश कार्की, मञ्चमा आसिन राजनीतिक दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, उपस्थित भद्र महिला तथा सज्जनबृन्द ! 'बदलिंदो सन्दर्भमा नेपाल चीन सम्बन्ध र भारत' विषयक किताब तयार गरी सार्वजनिक गर्नुभएकोमा म नेकपा -एमाले) का नेता तथा कुशल लेखक सुरेश कार्कीलाई हार्दिक बधाई दिन चाहन्छु । नेकपा -एमाले) त्याग, बलिदान र सङ्घर्षबाट खारिएका धेरै प्रतिभाशाली व्यक्तित्वहरु भएको पार्टी हो । सुरेश कार्की एउटा त्यस्तै प्रतिभा हुनुहुन्छ, जसलाई म लामो समयदेखि जान्दछु । सहयोद्धाका रुपमा हामीले एउटै कमिटीमा बसेर झन्डै डेढ दशकसम्म काम गरेका छौँ । उहाँले वैदेशिक सम्बन्ध, खासगरी नेपाल र मध्य तथा दक्षिण एसियाबीचको सम्बन्ध, साहित्य र समसामयिक राजनीतिका क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । प्रस्तुत पुस्तक उहाँको अध्ययनशील बानीको परिणाम हो । सरसर्ती हेर्दा यो पुस्तक नेपाल र चीनबीचको सम्बन्ध र त्यस वरिपरि रहेका विषयवस्तुहरुमा केन्दि्रत रहेको देखिन्छ । यसभित्रका विषयवस्तुहरू केलाउँदा नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध, तिब्बत र यसको सेरोफेरोमा गत ६० वर्षमा भएका घटनाहरू, हिमाली क्षेत्रको समग्र स्थायित्व र नेपालको अवस्थिति, पछिल्लो चरणमा नेपालमा उ ेका संघीयतामा राज्यको खाकासम्बन्धी मुद्दाहरू, नेपाल-चीन र भारतको सहयोग स्थिति, नेपालको चीनसँगको सम्बन्ध र यसको विस्तारका सम्भावना तथा प्राथमिकताहरूका अतिरिक्त चीनसम्बन्धी तथ्यहरू प्रस्तुत गरिएको छ । यस पुस्तकको प्रकाशनले नेपाल र चीनबीचको सम्बन्धबारे अधययन गर्न चाहने अध्येता, अनुसन्धाता, कुटनीतिज्ञ, जिज्ञासु र विद्यार्थी लाभान्वित हुनेछन् । यी विषयहरुको अध्ययनबाट नेपाल र चीनबीचको बहुआयामिक सम्बन्ध विस्तारमा थप टेवा पुग्ने विश्वास मैले लिएको छु । दुई दिनपछि म छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा मैत्रीपूर्ण भ्रमणका लागि जाँदैछु । म नेपाली जनताको चिनियाँ जनताप्रतिको सद्भाव र असल मित्रताको कोशेली लिएर चीनतर्फ प्रस्थान गर्दैछु । मलाई आशा एवम् विश्वास छ- यस भ्रमणले हाम्रा दुई मुलुकबीचका बहुआयामिक सम्बन्धलाई अझ बढी प्रगाढ र उन्नत बनाउन थप योगदान दिनेछ । हाम्रो सम्बन्ध विस्तारले समग्र दक्षिण एसियामा स्थायित्व र शान्तिका लागि थप योगदान दिनुका अतिरिक्त दुवै मुलुकका जनताको उन्नति र सम्मृद्धिमा पनि टेवा पुर्‍याउनेछ । भर्खरै जलवायुसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनका क्रममा डेनमार्कको राजधानी कोपनहेगनमा मेरो चिनियाँ प्रधानमन्त्री वेन जियावाओसँग भेटवार्ता भएको थियो । नेपालको एक असल छिकेकीका हैसियतले चीन सधै नेपालको स्थायित्व, शान्ति, समृद्धि र विकास भएको हेर्न चाहन्छ भन्ने स्पष्ट छ । बेइजिङमा आपसी हितका विस्तृत विषयवस्तुहरुमाथि दुई देशका नेताहरुका बीचमा कुराकानी हुनेछ । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध विभिन्न चरणहरू पार गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासम्म आइपुगेको छ । यस अवधिसम्म आइपुग्दा यस सम्बन्धले विस्तृत, परिपक्व र फराकिलो आधार पनि निर्माण गरेको छ । यो सम्बन्ध विभिन्न उच्चस्तरीय राजनीतिक भ्रमण, आर्थिक क्रियाकलाप, सांस्कृतिक र साहित्यिक सम्बन्धहरुको आदान-प्रदान हुँदै जनस्तरसम्म विस्तार भइरहेको छ । बुद्ध भद्रले चीनमा गई बुद्धधर्मको प्रचार-प्रसार गरेको र धेरै बौद्धग्रन्थलाई चिनियाँ भाषामा अनुवाद गरी चिनियाँ साहित्यलाई सम्बृद्ध बनाएको यस वर्ष १६ सय वर्ष पुगेको छ । अरनिकोले चीनको राजधानी बेइजिङमा बनाएको श्वेत चैत्य नेपाल-चीन सम्बन्धको एउटा अग्लो प्रतीकका रूपमा विद्यमान छ । यस्तो ऐतिहासिक सम्बन्धलाई अझ दरिलो र व्यापक बनाउन दुवै मुलुकका सरकार, जनता र सामाजिक सङ्घ-संस्थाहरू निरन्तर क्रियाशील हुनुपर्दछ । तब मात्र हाम्रो विस्तारित सम्बन्धले दुवै मुलुकका जनताको हित र सम्मृद्धिमा योगदान दिन सक्नेछ । चीन नेपालको असल छिमेकी हो । त्यसैले चीनको चमत्कारिक प्रगतिबाट हामीलाई खुसी लाग्नु स्वाभाविकै हो । विश्वले पत्याउनै नसक्ने गरी चीनले आर्थिक क्षेत्रमा प्रगति हासिल गरेको छ । पछिल्लो अवधिमा अरु कैयौँ मुलुकहरुलाई उछिन्दै आफूलाई एउटा प्रमुख आर्थिक महाशक्तिका रुपमा उभ्याउन चीन सफल भएको छ । हाम्रो छिमेकीको यस प्रगतिबाट हामीले पनि फाइदा लिन सक्नुपर्दछ । नेपाल र चीनबीचको सीमा क्षेत्र शान्तिपूर्ण सीमारेखाको रूपमा रहन सक्यो र हिमाली क्षेत्रको शान्ति तथा स्थायित्व सुनिश्चित गर्न सकियो भने मात्र यस क्षेत्रको आर्थिक-सामाजिक विकासलाई गति दिन सम्भव हुनेछ । त्यसैले नेपाल र चीन मिलेर यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि सहकार्य गर्नुपर्दछ भन्नेमा नेपाल सरकार प्रतिबद्ध छ । चीनको स्वशासित क्षेत्र तिब्बत र ताइवान जनगणतन्त्र चीनका अभिन्न अङ्ग हुन् भन्ने कुरामा नेपाल सरकार सधैँ स्पष्ट र प्रतिबद्ध रहँदै आएको छ । साथै, नेपाली भूमि कुनै पनि छिमेकी मुलुकका विरुद्ध प्रयोग गर्न नदिन नेपाल सरकार दृढ छ । नेपाली भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन नदिन सरकार पूर्ण सचेत छ । चीनले नेपालको आर्थिक-सामाजिक विकासमा हालसम्म पुर्‍याउँदै आएको सहयोगको उच्च प्रशंसा गर्दै आउँदा दिनमा यो सहयोग थप विस्तार हुने मैले अपेक्षा राखेको छु । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात् नेपाल अहिले राजनीतिक सङ्क्रमणकालबाट गुजि्ररहेको छ । राजनीतिक समस्याको शान्तिपूर्ण समाधानका अतिरिक्त जनताका उर्लंदा चाहनाहरुको पूर्ति गर्न हामीलाई हाम्रा हितैषी मुलुकहरूको उदार र निःशर्त सहयोगको खाँचो छ । स्थिर, सम्मृद्ध, एकीकृत र बलियो नेपालले मात्र हाम्रा छिमेकीहरूसँग असल सम्बन्ध कायम गर्दै छिमेकी मित्रराष्ट्रविरोधी क्रियाकलापमा प्रभावकारी निगरानी र नियन्त्रण गर्न सक्दछ । त्यसैले हाम्रा छिमेकीहरुको सहयोगको हामीलाई हिजोभन्दा आज अझ बढी खाँचो छ । समृद्ध नेपाल निर्माणको यस अभियानमा हाम्रा छिमेकी मुलुकहरुबाट अझ बढी ऐक्यबद्धता र सहयोग प्राप्त हुने हामीले विश्वास लिएका छौँ । यस पुस्तकमा भारत र चीनबीचको हालैका वर्षमा भएको सम्बन्ध विस्तारको पनि संक्षेपमा उल्लेख गर्दै त्यसबाट नेपालमा सकारात्मक असर पर्ने उल्लेख गरिएको छ । हो, निश्चय पनि हाम्रा दुई विशाल छिमेकी मुलुकहरुका बीचमा हिजो र आजको सम्बन्धमा परिवर्तन आएको हामीले पनि अनुभूति गरेका छौँ । सबै कुरालाई गतिमा बुझ्नुपर्दछ । हिजोका आवश्यकता र अपेक्षाहरु फरक थिए, आज तिनले मात्र पुग्दैन । त्यसैले समयसापेक्ष रुपमा हरेक देेशका प्राथमिकताहरुमा तल-माथि भइरहन्छ । नेपाल एसियाका दुई ूला उदाउँदा शक्ति राष्ट्रहरूबीच दुवैको असल मित्र भएर रहन सक्छ भन्ने आशय लेखकले व्यक्त गर्नुभएको छ । यो अहिलेको हाम्रो आवश्यकता हो । दुई छिमेकीका बीचमा असल सम्बन्ध राखेर नै हामी अगाडि बढ्नुपर्छ । यसैमा नै हाम्रा, हाम्रा छिमेकीको र समग्र विश्वको हित छ भन्ने मलाई लाग्दछ । महामहिम चिनियाँ राष्ट्रपति हु जिन्ताओ, प्रधानमन्त्री वेन जियावाओ र चिनियाँ कम्युनिस्ट पार्टीको दूरदर्शी नेतृत्वले चीनका जनताको आर्थिक- सामाजिक विकासमा पाएको अभूतपूर्व सफलताका लागि चीनियाँ नेतृत्वलाई बधाई दिंदै विश्वका साना र अल्पविकसित मुलुकका जनताको जीवनस्तर माथि उ ाउन चीनले आउँदा दिनमा थप प्रभावकारी भूमिका खेल्न सकोस् र विश्व शान्ति तथा स्थायित्वमा थप योगदान दिन सकोस् भन्ने हाम्रो अपेक्षा छ । अन्तमा, पुनः एक पटक चीन र दक्षिण एसियाको सम्बन्ध जस्तो संवेदनशील विषयलाई नेपाली भाषामा ऐतिहासिक दस्तावेजसहित प्रस्तुत गरी यो पुस्तक तयार गर्नुभएकोमा सुरेश कार्कीलाई बधाई दिंदै आउँदा दिनमा तपाईंले नयाँ-नयाँ विषयलाई पस्किन सक्नुहोस् भन्ने हार्दिक कामनासहित मेरो भनाइ यही टुङ्ग्याउँछु । धन्यवाद ∕ -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले सुरेश कार्कीद्वारा लिखित पुस्तक 'बदलिँदो सन्दर्भमा नेपाल-चीन सम्बन्ध र भारत' विमोचन कार्यक्रम -२०६६ पुस ९, कमलादी-का माडौँ) मा दिनुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्