Madhav Kumar Nepal

मनमोहन पोलिटेक्निकको उद्घाटन कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका अध्यक्ष यस पोलिटेक्निकका अध्यक्ष भरतमोहन अधिकारी, नेकपा -एमाले) का अध्यक्ष कमरेड झलनाथ खनालज्यू, माननीय उपप्रधानमन्त्री तथा मन्त्रीहरु, नेपालका लागि महामहिम भारतीय राजदूत राकेश सूद, नेकपा -एमाले) का महासचिव ईश्वर पोखरेललगायत विभिन्न राजनीतिक दलका नेताहरु, उद्योगपति-व्यापारीहरू, पोलिटेक्निक व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक तथा विद्यार्थीहरु, उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू ! भूतपूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको नाममा स्थापित यस मनमोहन स्मृति पोलिटेक्निकको नवनिर्मित भवन तथा परिसरको उद्घाटन गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ । भवन तथा यसको सिङ्गो संरचनाको सफलतापूर्वक निर्माण सम्पन्न गर्नुभएकोमा यसमा संलग्न निर्माणकर्मी मजदुरहरूलगायत तपाईंहरू सबैलाई बधाई दिन चाहन्छु । त्यस्तै यो पोलिटेक्निक निर्माणको आर्थिक दायित्व बहन गर्ने भारत सरकारका साथै यसको अवधारणा अगाडि सार्नेदेखि निर्माण कार्यमा समेत संलग्न भएर महत्वपूर्ण योगदान गर्नुहुने नेकपा -एमाले) का महासचिव ईश्वर पोखरेल, स्थायी समिति सदस्य भरतमोहन अधिकारी तथा महामहिम भारतीय राजदूत राकेश सूदलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु । मनमोहन अधिकारी नेपालको लोकतान्त्रिक आन्दोलनका एकजना अगुवा राजनेता हुनुहुन्थ्यो । उहाँको राजनीतिक जीवन नेपालमा मात्र सीमित थिएन । उहाँ भारतको स्वतन्त्रता आन्दोलनमा समेत सहभागी योद्धा हुनुहुन्थ्यो । उहाँको नाममा यो पोलिटेक्निक निर्मार्ण गरिदिएर भारत सरकारले उहाँप्रति सम्मान जाहेर गरेको छ भन्ने मलाई लागेको छ । आजै हामीले स्वर्गीय मनमोहन अधिकारीको पूर्ण कदको प्रतिमा नेकपा -एमाले) का अध्यक्ष कमरेड झलनाथ खनालबाट अनावरण गरेका छौँ । अब यस परिसरमा प्रवेश गर्नेवित्तिकै उहाँको सिङ्गो तस्वीर आउनेछ । कुनै पनि राष्ट्र रातारात विकसित र सम्पन्न हुन सक्दैन । त्यसका लागि लामो समयको लगनशीलता, समर्पण र लगानी चाहिन्छ । त्यसभन्दा अगाडि कस्तो मुलुक बनाउने भन्ने दूरदृष्टि चाहिन्छ । विगतमा हाम्रो मुलुकमा विकास-निर्माणका संरचनाहरू बनाउँदा पर्याप्त मात्रामा दूरदृष्टिको अभाव देखिन्छ । कुन संरचना किन र कुन उद्देश्यका लागि बनाउने हो भन्दा पनि 'केही न केही बनाइहालौँ न त' भन्ने आधारमा संरचनाहरू निर्माण गर्ने प्रवृत्तिका कारण निर्माण भएका संरचनाहरूको पनि सही र पूरा रूपमा सदुपयोग हुन सकिरहेको छैन । त्यसैले हामीले कुनै पनि योजना/आयोजनाहरू तय गर्दा त्यसको दीर्घकालीन भविष्यका बारेमा सबभन्दा बढी ध्यान दिनुपर्दछ । करौडौँ रकम खर्च गरेर संरचना बनाउने तर चार-पाँच वर्षमै उपयोगविहीन हुने स्थिति बन्यो भने हामी फेरि पनि जहाँको तहीँ हुन्छौँ । मनमोहन स्मृति पोलिटेक्निक त्यसभन्दा भिन्न योजनाका साथ निर्माण भएको छ । चौधै अञ्चलमा यस प्रकार इन्स्िटच्युट मात्र होइन, पोलिटेक्निक कलेजहरु नै स्थापना गर्नुपर्छ भन्ने कुरालाई नेपाल सरकारले अघि बढाउने योजना बनाएको छ । २०५१ सालमा नेकपा -एमाले) को सरकार हुँदा हामीले यो अवधारणा सुरु भएको हो । दक्ष जनशक्ति निर्माण गर्ने यस अभियानलाई अघि बढाउनुपर्छ । वर्तमान सरकारले टेक्नोलोजिकल विश्वविद्यालय स्थापनाको अवधारणालाई अघि सारेको छ । सम्भवतः त्यो विश्वविद्यालय पूर्वाञ्चलमै कमरेड मदन भण्डारीको नाममा स्थापना गर्ने सोच अगाडि बढेको छ । यसलाई अन्तिम रुप दिइनेछ । दक्ष जनशक्तिको अभावमा कुनै पनि देशको विकास-निर्माण हुन सक्दैन । हामीकहाँ कलकारखानाहरू छन् । तर, तिनीहरूका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षालयहरूको कमी छ । मनमोहन स्मृति पोलिटेक्निक त्यस आवश्यकतालाई परिपूर्ति गर्ने एउटा उपयुक्त थलो बन्नेछ र यहाँबाट उत्पादित मेकानिकल, इलेक्टि्रकल र इलेक्ट्रोनिक प्राविधिकहरू हाम्रो मुलुकको बढ्दो आवश्यकता परिपूर्तिका लागि निकै उपयोगी हुनेछन् भन्ने मैले अपेक्षा गरेको छु । झन्डै बीस बिघाको क्षेत्रफलमा फैलिएको यस पोलिटेक्निकभित्र हालसम्म निर्माण भइसकेका २६ वटै भवनको पूर्ण रूपमा तपाईंहरूले उपयोग गर्नुहुनेछ । यहीँभित्रै पनि आय-आर्जनका कामहरू सञ्चालन गरेर विद्यार्थीलाई आत्मनिर्भर बनाउनेतर्फ पनि तपाईंहरूको ध्यान जानेछ । यसो गर्न सकेमा मात्रै साँचो अर्थमा प्राविधिक शिक्षालयको महत्व र व्यावसायिकता व्यवहारमा पुष्टि हुन सक्छ । हामी विश्वका दुई ूला मुलुकहरूका बीचमा छौँ । दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीन दुबै अहिले तीब्रतर आर्थिक विकासको यात्रामा लम्किरहेका छन् । उनीहरूले विश्व बजारमा प्रतिस्पर्धा गरिरहेका छन् । हाम्रा लागि पनि यो खुसीको कुरा हो । दुई ूला मुलुकहरूको घनिष्ट छिमेकी भएका कारण पनि हामीले स्वतः केही लाभहरू पाउँछौँ नै र पाउनु पनि पर्छ । उनीहरूले हाम्रो मुलुकको विकासमा अलिकति पनि सहयोग गरे भने त्यो उनीहरूका लागि धेरै हुँदैन । तर, हाम्रा लागि अत्यन्तै धेरै सहयोग हुन सक्छ । आफू मात्र विकसित भएर हुँदैन, छिमेकी पनि विकसित हुनुपर्दछ भन्ने मान्यता अनुसार खासगरी छिमेकी मित्र राष्ट्र भारतले पुर्‍याएको सहयोगका लागि म विशेष धन्यवाद दिन चाहन्छु । छिमेकी मित्र राष्ट्र भारतले नेपालको विकास-निर्माणमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएको छ । भारतको सहयोगमा विभिन्न बाटोघाटो, पुलपुलेसा, सरकारी भवन, विद्यालय, स्वास्थ्यचौकीलगायत संरचनाहरू बनेका छन् । मनमोहन स्मृति पोलिटेक्निक पनि त्यसैको एउटा निरन्तरता हो । भारत सरकारले भविष्यमा आफ्नो सहयोगलाई अझ बढाउनेछ र नेपाल त्यसबाट अझै बढी लाभान्वित हुनेछ भन्ने मैले अपेक्षा गरेको छु । समयमै काम सम्पन्न नहुने समस्याले विकास-निर्माणलाई थप महङ्गो बनाउने गरेको छ । एक वर्षमा सम्पन्न हुनुपर्ने काममा पाँच वर्ष लाग्यो भने स्वाभाविक रूपमा त्यसको लागत बढ्न जान्छ । समय बढेका कारणले मात्र होइन, स्वाभाविक मूल्यवृद्धिका कारणले पनि लागत बढ्नु स्वाभाविक हुन्छ । कुनै पनि आयोजनाहरूलाई तोकिएको समयभित्र, तोकिएको लागतमा निर्माण गर्नुपर्छ । यसै सन्दर्भमा भारत भ्रमणका क्रममा मैले यस पोलिटेक्निकलाई कलेजका रुपमा अघि बढाउन आग्रह गरेको थिएँ । म यस कुरामा आशावादी छु । यति ूलो संरचनाको निर्माण तीन वर्षमा भएको छ । मनमोहन पोलिटेक्निकसम्मको दुई किलोमिटर लामो बाटो पनि छोटो अवधिमा निर्माण भएको छ । यस परम्परालाई देशव्यापी बनाउनुपर्छ । देशभरिका अरु आयोजनालाई पनि यसरी नै छिटो, छरितो र गुणस्तरीय रुपमा सम्पन्न गर्नुपर्छ भन्ने मेरो आग्रह छ । अहिले सरकारका सामु मुख्य रुपमा तीनवटा कार्यभारहरु रहेका छन् । पहिलो- शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने । साथमा हातहतियार र लडाकु रहेसम्म कुनै पनि पार्टी नागरिक राजनीतिक पार्टी हुन सक्दैन । त्यसैले कुनै पनि पार्टीका हातमा सेना र हतियार रहनु हुँदैन । एकीकृत नेकपा -माओवादी) लाई जबसम्म हतियार र लडाकाहरुबाट मुक्त गर्न सकिँदैन, तबसम्म ऊ नागरिक राजनीतिक पार्टी हुन सक्दैन । र, उसलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय समुदायले पनि विश्वास गर्न सक्दैन । दोस्रो- संविधान निर्माण । जबसम्म हतियारको कुरा सकिँदैन, तबसम्म नयाा संविधान बन्न सक्दैन । नयाँ चुनावअघि नै हतियार तथा सेनासम्बन्धी सबै काम सम्पन्न गरिसक्नुपर्ने सबैको अपेक्षा रहेको छ । तेस्रो- जनसरोकारका विषय । विकास-निर्माणका कामहरुलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाएको छ । पर्याप्त मात्रामा भौतिक संरचनाहरुको निर्माण नगरी हामी मुलुकलाई सम्पन्न बनाउन सक्दैनौँ । अहिले आन्दोलन गर्ने, झगडा गर्ने र द्वन्द्व बढाउने बेला होइन । सडकमा टायर बालेर, बबाल मच्चाएर र कालो झन्डा देखाएर कसैले सरकारमा जान्छु भन्ने सोचेको छ भने त्यो सफल हुने छैन । आउनुहोस्, सँगै बसौँ, छलफल गरौँ र समाधान निकालौँ । फेरि पनि सहमतिका साथ अघि बढौँ र बढ्न सकिन्छ भन्ने मलाई विश्वास छ । अन्त्यमा, यस मनमोहन स्मृति पोलिटेक्निकले भविष्यमा आफूलाई अझ बढी स्तरीय, सुविधासम्पन्न र उपयोगी बनाओस् भन्दै वरिपरि हरियाली बनाउन चारैतिर हजारौँ रुक रोपेर सुरम्य वातावरण बनाउन तपाईंहरुको ध्यानाकर्षण गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले मनमोहन स्मृति पोलिटेक्निकको उद्घाटन -२०६६ कात्तिक १६, हात्तीमुढा-मोरङ) मा दिनुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्