Madhav Kumar Nepal

नास्टको २८ औं प्राज्ञसभामा दिनुभएको मन्तव्य

उपकुलपति तथा सभासद् मित्रहरू ! नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष् ानको कुलपतिका हैसियतले आज यस २८ औँ प्राज्ञसभाको अध्यक्षता ग्रहण गर्न पाउँदा मलाई खुसी लागेको छ । नेपालमा विज्ञान तथा प्रविधिको अध्ययन, अनुसन्धान, विकास र विस्तारका लागि राज्यका तहबाट जिम्मेवारी बहन गरिरहेको मूल नेतृत्वदायी निकायको यस सभाले गर्ने कामहरूले मुलुकको विज्ञान-प्रविधिको विकासमा दीर्घकालीन महत्व राख्छन् भन्ने मलाई लाग्छ । आज हामी यही जिम्मेवारीबोधका साथ यस सभामा बसिरहेका छौँ । आज मलाई तपाईर्ंहरूका कुरा सुन्ने अवसर प्राप्त भयो । हाम्रो मुलुकले विज्ञान-प्रविधिका क्षेत्रमा के गरिरहेको छ भन्ने कुराको सङ्क्षिप्त झलक यहाँ भर्खरै प्रस्तुत भएको छ । यस क्षेत्रका तपाईं विज्ञ प्राज्ञहरूले यहाँ जुन भावना व्यक्त गर्नुभएको छ, त्यसबाट हाम्रो मुलुकमा विज्ञान तथा प्रविधिको विकासको दिशा के हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । आजको दिनमा तपाईं-हामीले अझ बढी मिहिनेत, बुद्धि र योग्यता प्रदर्शन गरेर समृद्ध नेपालका लागि विज्ञान तथा प्रविधिको विकासलाई एउटा अभियानका रूपमा लैजाने प्रण गर्नुपर्दछ । मुलुकको आधुनिकीकरण र समृद्धिसँग विज्ञान तथा प्रविधिको विकास अनन्य रूपमा जोडिएको हुन्छ भन्ने कुरामा कुनै शङ्का छैन । अहिलेको अवस्थामा हामीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि कुनै एक क्षेत्रमा मात्र काम गरेर हुँदैन । जो जहाँ छौँ, हामीले त्यहीँबाट समृद्ध नेपाल बनाउनका लागि योगदान दिनुपर्छ । नयाँ नेपालको विज्ञान तथा प्रविधि कस्तो हुनुपर्छ ? यस विषयमा वैज्ञानिकहरूको ध्यान जान जरुरी छ । आज यहाँ जुन योजनाहरू प्रस्तुत भएका छन्, तिनीहरूको सफल कार्यान्वयनबाट निर्धारित लक्ष्यमा पुग्न सकिन्छ भन्ने मलाई विश्वास छ । विगतमा देखा परेका समस्या र कमी-कमजोरीहरूबाट पा सिक्दै हामीले मिहिनेत र लगनशीलताका साथ काम गर्‍यौँ भन्ने अहिले बनाएका सबै योजनाहरू निर्धारित समयभित्र पूरा हुनेछन् भन्ने मलाई विश्वास छ । परम्परागत कुराहरूमा अल्भिmएर मात्र विज्ञान तथा प्रविधिको विकास गर्न सकिँदैन । त्यसका लागि यस क्षेत्रमा नयाँ अध्ययन, खोज, अनुसन्धान र प्रयोगको जरुरी छ । जनताले दैनिक जीवनमा भोग्नुपरेका समस्याहरूलाई समाधान गर्नका लागि विज्ञान तथा प्रविधिका क्षेत्रबाट कसरी सहयोग गर्न सकिन्छ ? हाम्रो विज्ञान तथा प्रविधिको एउटा मुख्य ध्येय यसमा केन्दि्रत हुनुपर्छ । समग्रमा विज्ञान तथा प्रविधिका क्षेत्रमा हामीले राष्ट्रको नाम चम्काउने गरी के गर्न सक्छौँ भन्ने कुरा नै मुख्य हो भन्ने कुरालाई सधैँ प्राथमिकतामा राख्नुपर्छ । हामीसँग धेरै समस्याहरू छन् । तर, समस्याहरू छन् भनेर मात्रै हुँदैन । किनभने, हरेक समस्यासँग समाधान पनि जोडिएर आएको हुन्छ । भनिन्छ- जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय पनि हुन्छ । अहिले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष् ानलाई चाहिए जति भौतिक स्रोत-साधनको अभाव हुन सक्छ । तर, अहिले जति छ, त्यसबाट पनि धेरै गर्न सकिन्छ । तपाईंहरूसँग राजधानीमै ८० रोपनीमा फैलिएको सम्पत्ति छ । यसलाई राम्ररी उपयोग गरेर संस्थालाई आत्मनिर्भर बनाउन सकिन्छ । विज्ञान तथा प्रविधिको उचित विकासका लागि तदनुकूलका भौतिक संरचनाहरूको निर्माण पनि आवश्यक छ भन्ने कुरामा कसैको दुई मत छैन । प्रयोगशाला, त्यसका लागि चाहिने उपकरणहरू, वैज्ञानिकहरूका लागि तालिमलगायतका पूर्वाधार विकासका लागि नास्टले कोरियाको कोइकासँग सहकार्य गर्ने प्रयास गरिरहेको थाहा पाउँदा मलाई खुसी लागेको छ । यसलाई अघि बढाउनका लागि आवश्यक सहयोग गर्न सरकारले प्राथमिकतामा राखेर पहल गर्नेछ । छिमेकी मित्र राष्ट्र भारत सरकारको सहयोगमा बन्न गइरहेको साइन्स लर्निङ सेन्टरको निर्माण पूरा भएपछि नास्टको अभियानले अझै गति लिनेछ भन्ने मैले विश्वास लिएको छु । हाम्रो मुलुकमा वैज्ञानिकहरू उत्पादन गर्ने सोच र योजनाको अभाव रहेको तथ्य यथार्थ हो । विद्यालय तहदेखि नै प्रतिभावान् विद्यार्थीहरूको पहिचान गरी उनीहरूको प्रतिभा प्रस्फुटित हुने वातावरण तयार गर्नुपर्छ । त्यसका लागि समाजमा रहेका अन्धविश्वास, परम्परागत रुढीहरू र अवैज्ञानिक सोचहरूलाई हटाउनुपर्छ । त्यसो गर्न सकियो भने मात्र बच्चैदेखि मानिसहरूमा वैज्ञानिक सोचको विजारोपण गर्न सकिन्छ । हुन त नास्टले प्रतिभाहरूलाई प्रोत्साहित गर्ने नीति अनुसार विज्ञान तथा प्रविधिका क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरूलाई पुरस्कृत गर्ने पनि गरिरहेको छ । प्रतिभाहरूलाई प्रोत्साहनका लागि यो एउटा उपयुक्त तरिका हो । तर, अध्ययन, अनुसन्धान र खोज जस्तो गहन कार्यमा यतिले मात्रै पुग्दैन । यस कुरामा हामीले विशेष ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ । हाम्रो मुलुकको विज्ञान तथा प्रविधिलाई कृषि क्षेत्रको विकाससँग जोडेर लैजानुपर्छ । कृषि उत्पादन वृद्धिका लागि हामीले जैविक प्रविधिको प्रयोगमा जोड दिनुपर्छ । हाम्रो मुलुक प्राकृतिक स्रोत-साधनले सम्पन्न छ । तर, विडम्बना ! यसको अहिलेसम्म हामीले समुचित विकास गर्न सकेका छैनौँ । हाम्रो मुुलुकमा अनेक प्रकारका जडीबुटीहरू छन् । तिनीहरूलाई राष्ट्रिय हित र जनताको स्वास्थ्यका लागि कसरी उपयोग गर्न सकिन्छ ? यस विषयमा पनि नास्टले खोज-अनुसन्धान गर्न जरुरी छ । अहिले हाम्रो मुलुक ऊर्जा सङ्कटबाट गुजि्ररहेको तथ्य सर्वविदितै छ । यस्तो अवस्थामा वैकल्पिक ऊर्जाको विकास गरी देशलाई राहत दिनका लागि नास्टले ध्यान दिनुपर्छ । बैकल्पिक ऊर्जाको विकासबाट हामीलाई ूलो राहत मिल्नेछ । त्यति मात्र होइन, जनताका परम्परागत पेसाहरूलाई आधुनिकीकरण गर्ने र तिनीहरूलाई अझ बढी लाभकारी बनाउनेतर्फ हामीले पहल गर्नुपर्छ । यसबाट मुलुकको गरिबी निवारणमा ूलो टेवा पुग्न जाने तथ्य निर्विवाद छ । मैले भर्खरै नास्टको प्राङ्गणबाट खग्रास सूर्यग्रहण अवलोकन गर्ने अवसर पाएको थिएँ । यहाँ सूर्यग्रहण हेर्न आएका थुप्रै सर्वसाधारणहरूलाई पनि मैले देखेको थिएँ । तपाईंहरूका यस्ता प्रयासले विज्ञान तथा प्रविधिका क्षेत्रमा आम मानिसहरूको चाख र चासो बढाउन सहयोग गर्छन् । नेपालमा अझै पनि सूर्यग्रहण, चन्द्रग्रहणजस्ता वैज्ञानिक कारणले हुने घटनाहरूलाई पनि धर्मसँग जोडेर हेर्ने गरिन्छ । यस्तो अवस्थामा तपाईंहरूले खगोलशास्त्रको कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्छ । यसका साथै, सूचना सञ्चार प्रविधि -इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी) मा पनि ध्यान दिएर अहिलेको एक्काइसौँ शताब्दीमा आफूलाई अझ बढी प्रतिस्पर्धी, समयानुकूल र अग्रणी बनाउनुपर्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष् ानले विभिन्न आरोह-अवरोहहरूका साथ २६ वर्ष लामो यात्रा पार गरिसकेको छ । नियमित रूपमा कार्यालय चलाउने, यस्ता सभाहरू गर्नेभन्दा पनि हामीले 'यो-यो गर्‍यौँ' भनेर देखाउन मिल्ने गरी काम गर्नुपर्छ । नास्टमा अहिले विज्ञान तथा प्रविधिकै क्षेत्रमा काम गर्ने ४० जना व्यक्तिहरू हुनुहुन्छ भने सबै गरेर १ सय २५ जना स्थायी कर्मचारीहरू हुनुुहुन्छ । यहाँ धेरै विद्वान् व्यक्तित्वहरू हुनुहुन्छ । नास्टले उहाँहरूको क्षमताको भरपूर उपयोग गर्न सकेको छ कि छैन ? कतै यो संस्था तलब खाने थलोका रूपमा मात्रै त विकसित हुँदै छैन ? यी विषयमा तपाईंहरूले गम्भीरतापूर्वक ध्यान नदिएसम्म यसलाई विज्ञान तथा प्रविधिको नेतृत्वदायी संस्थाका रूपमा स्थापित गर्न सकिँदैन भन्ने तीतो यथार्थलाई मनन गर्नैपर्छ । अन्त्यमा, नयाँ नेपालमा विज्ञान तथा प्रविधिको विकासलाई एउटा अभियानका रूपमा लैजानका लागि तपाईंहरू सफल हुनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आफ्नो भनाइ यही टुङ्ग्याउँछु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष् ानका कुलपति माधवकुमार नेपालले प्रतिष् ानको २८ औँ प्राज्ञसभा -३२ साउन, २०६६) मा व्यक्त गर्नुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्