Madhav Kumar Nepal

प्रधानमन्त्री इजिप्ट प्रस्थान

काठमाडौं, असार ३० । प्रधानमन्त्री माधवकुमार नेपाल असंलग्न राष्ट्रहरुको १५ औं अन्तराष्ट्रिय शिखर सम्मेलनमा भाग लिन आज इजिप्ट प्रस्थान गर्नुभएको छ । इजिप्टको पर्यटकीय शहर सामएल - सेकमा बुधवारबाट सुरु हुने शीखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री नेपाल बिहान साँढे नौ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो । दुई दिनसम्म चल्ने उक्त शीखर सम्मेलनमा प्रधानमन्त्री नेपालले साउन १ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । इजिप्ट प्रस्थान गर्नुअघि प्रधानमन्त्री नेपालले राष्ट्रपति डा. रामवरण यादवसँग राष्ट्रपति भवन शितल निवासमा शिष्टचार भेट गर्नुभएको थियो । प्रधानमन्त्री नेपालले इजिप्टका राष्ट्रपति होस्नी मुवारक र अन्य मुलुकका सरकार प्रमुखहरुसँग पनि भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहाकार राजन भट्टराईका अनुसार प्रधानमन्त्री नेपालले भारतीय प्रधानमन्त्री मनमोहन सिंह र पाकिस्तानी प्रधानमन्त्री युसुफराजा गिलानीसँग भेटवार्ता गर्नुहुनेछ । २० सदस्यीय प्रतिनीधिमण्डलमा धर्मपत्नी गायत्री नेपाल, परराष्ट्र मन्त्री सुजता कोइरला, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रघुजी पन्त, परराष्ट्र मामला सल्लाहाकार राजन भट्टराई, मुख्य सचिव भोजराज घिमिरे, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य, परराष्ट्र प्रवक्ता मदनकुमार भट्टराई, शिष्टाचार प्रमुख अरुण धिताल, नीजि अंग रक्षक प्रमुख सेनानी मन बस्नेत, प्रहरी नायव उपरिक्षक चन्द्र खापुङलगायत सहभागी हुनुहुन्छ । सम्मेलनमा १ सय १८ सदस्य राष्ट्रका प्रमुख र सरकार प्रमुखहरुको सहभागिता रहने छ । शीतयुद्द कालमा असंलग्न आन्दोलनका रुपमा स्थापित तेश्रो विश्वका अविकसित राष्ट्रहरुको शीखर सम्मेलनको महत्व झन् बढ्दै गइरहेको छ । परिवर्तित परिस्थितिमा अन्तराष्ट्रिय भूमण्डलिकरणको प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएकाले असंलग्न आन्दोलनको महत्व बढ्दै गएको हो । तीन बर्षअघि क्युवामा सम्पन्न १४ औं शीखर सम्मेलनमा तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री के.पी. शर्मा ओलीले भाग लिनुभएको थियो ।
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्